पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पक्राउ

पूर्व उपप्रधान एवं गृहमन्त्री रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन् । शुक्रवार पार्टी कार्यालयमा प्रहरी सामू उनले आत्मसमर्पण गरेका हुन् ।

पक्राउ परेका लामिछानेलाई पोखरा पुर्याइने प्रहरी श्रोतले जनाएको छ । जिल्ला प्रहरी परिसर कास्कीले उनीमाथि अनुसन्धान अघि बढाउने छ । पोखराको सूर्यदर्शन सहकारी ठगी सम्बन्धी अनुसन्धानका लागि प्रहरीले लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत कास्कीसंग अनुमती मागेको थियो । अदालतले अनुमती दिए संगै शुक्रवार उनलाई पक्राउ गर्न हतार हतार प्रहरी पुगेको थियो ।

पाँच वर्षअघि पनि लामिछाने पक्राउ परेका थिए । त्यतिबेला भने उनी पत्रकार थिए । उनकै सहकर्मी पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनमा संलग्न रहेको अभियोगमा प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चितवनमार्फत अनुसन्धान अघि बढाएको थियो । अभियोग पुष्टि नभएको भन्दै उनलाई जिल्ला अदालत चितवनले सफाई दिएपछि ११ दिनपछि उनी रिहा भएका थिए ।

शुक्रवार पक्राउ हुनु अघि प्रेससंग कुरा गर्दै लामिछानेले सरकारले आफूहरुलाई जेल हाल्न अमूक व्यक्तिहरु संग सम्झौता गरिसकेकोले सरकारको कदम अनपेक्षित नरहेको बताए । आफूले सहकारी ठगी सम्बन्धी कुनै अपराध नगरेको र यो राजनीतिक पूर्वाग्रह मात्र भएको उनको भनाइ छ । उनले अनुसन्धानलाई सघाउने समेत बताएका छन् ।

त्यस अघि लामो फेसबुक स्टाटस लेख्दै उनले प्रधानमन्त्री केपी ओलीप्रति आक्रोश पोखेका थिए । ”तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहि हतकडी ?”उनले भने, ”यति गरेपछि भाटभटिनीको इस्यु मोड्न पनि पाइयो ।”