भारतीय बिदेश सचिवको ब्यवहारले महेश बस्नेत असन्तुष्ट

भक्तपुर । भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबार भएको औपचारिक भेटमा देखाएको व्यवहारलाई लिएर ओली निकट नेता नेकपा (एमाले) का पोलिट्ब्युरो सदस्य महेश बस्नेतले असन्तुष्टि व्यक्त गरेका छन्।

मिस्रीले प्रधानमन्त्री ओलीसँग भेटवार्ताको क्रममा “उपरखुट्टी” लगाएर बसेको तस्बिर सार्वजनिक भएपछि बस्नेतले सामाजिक सञ्जालमार्फत कूटनीतिक मर्यादा विपरीत भएको टिप्पणी गरेका हुन्।

“हाम्रो संस्कृति र कूटनीतिक शिष्टाचारमा यसलाई सम्मानजनक व्यवहार मानिँदैन,” पूर्वमन्त्रीसमेत रहेका बस्नेतले भने, “प्रधानमन्त्री वा राष्ट्रप्रमुखसँग भेट्दा संयमित आसन, सम्मानयुक्त भंगिमा र मर्यादित व्यवहार अपेक्षित हुन्छ।”

उनका अनुसार व्यक्तिगत सहजता वा बानी झल्किए पनि यस्तो दृश्यले राष्ट्र र पदको गरिमामाथि प्रश्न उठाउँछ। उनले थपे, “कूटनीतिक सम्बन्धमा आचरण र शिष्टताले नै मित्रताको गहिराइ देखाउँछ भन्ने कुरा नबिर्सौं।”

आइतबारको भेटमा भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणा समेत दिएका थिए।

नेपाल–भारतबीचको सम्बन्धलाई सुदृढ बनाउन उच्चस्तरीय भेटघाट तयारी भइरहेको समयमा बिदेश सचिवको व्यवहार र बस्नेत लगायत नेताकार्यकर्ताको टिप्पणीले सामाजिक र राजनीतिक वृत्तमा थप बहस जन्माएको छ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले भारतीय पक्ष हेपाहा शैलीमा प्रस्तुत हुनु दु:खद रहेको प्रतिक्रिया दिइरहेका छन् ।