सङ्गति भन्ने शब्द व्याकरणीय हिसाबले मिल्ने, जोरिने काम वा मेलमिलाप भन्ने अर्थ लाग्छ । साथै नेपाली शब्दकोशमा यसको अर्थ उपयुक्तताका दृष्टिले हुने भेला सभा भन्ने छ । तीन वर्ष अघि उपयुक्तताका हिसाबमै हामी नेपाली पत्रकारहरुको छाता सङ्गठन नेपाल पत्रकार महासंघको नेतृत्वमा जोडिएका थियौं । लोकतान्त्रिक आन्दोलनमा हामी पत्रकारहरु फरक फरक ढङ्गले जोडियौं । जुन वाद र विचारबाट प्रभावित भए पनि नेपाली पत्रकारहरुको साझा समस्यामा एकै ठाउँमा जुट्ने हाम्रो संस्कारको विकास भएको छ ।
राजनीतिक आस्था र सामाजिक धरातलसमेत फरक भएका हामी पत्रकारहरु एउटै संस्थामा बसेर काम गर्नु हाम्रा लागि (खासगरी मेरा लागि) फरक अनुभूति थियो । सँगै भयौं, सँगै छलफल र वादविवाद ग¥यौ र नेपाली पत्रकारहरुको साझा समस्याहरुको हल खोज्ने साझाविन्दुमा सहमत पनि भयौं । जटिलताहरु थिए, छन् । तर पनि हामीबीच सहमति नभएकै कारण कुनै मुद्दा थाती रहेनन् । कुनै पनि समस्यामा अल्झिएनौ । राजनीतिबाट सधै अलग भएको ठान्ने पत्रकारहरु राजनीतिक आन्दोलनबाट हामी कहिल्यै अलग भएनौं । पत्रकारहरु आफ्नो पेसागत हक अधिकारकै लागि राजनीतिक आन्दोलनमा जोडिएको सत्यतालाई हामीले भुल्नुहुन्न ।
जब हामी तीन वर्ष पहिले नेतृत्वमा चुनिएर सञ्चारग्रामको आँगनमा पाइला राख्यौं, हामीले राजनीतिक आस्था र विचारलाई बिर्सियौं । साझा र स्वयंसेवी संस्था नेपाल पत्रकार महासंघलाई हामीले साझा बनाउने कुरामा सक्दो प्रयास ग¥यौं । सफल हुन सकियो, सकिएन समीक्षा गरौला । हामीमाथि आम मानिसहरुले मात्रै होइन, पत्रकारहरुले समेत हेर्ने दृष्टिकोण फरक फरक थियो । मसँग एउटा तितो अनुभूति छ, एकदिन एकजना पत्रकार नेताले नेपाल पत्रकार महासंघको चारतले भवनतिर आँखा लगाउँदै भनेका थिए, “यहाँ माथि अखिलको झण्डा पनि गाड्नु ।“
मन चसक्क भयो । यो कुरा गम्भीर र चिन्तित तुल्याउने थियो । तपाईलाई यस्तो लाग्छ ? उनलाई मसँग प्रश्न मात्र थियो, मैले उत्तर दिने प्रयास गरेको भए पनि उनलाई चित्त बुझ्ने थिएन, त्यसकारण उत्तर दिने प्रयास नै गरिनँ । उहाँलाई लाग्यो नेपाल पत्रकार महासंघको चारतले भवनका सबै कोठामा वामपन्थी विचारको छलफल र प्रशिक्षण चल्छ । यहाँ पेसागत हक, अधिकार र पत्रकारको पक्षमा कुनै सिन्का भाँचिदैन । के यस्तै थियो त ? यो ठूलो भ्रम र पूर्वाग्रही सोच मात्र थियो । हामी माथि लागेको आरोप सही थिएन ।
२५ औं महाधिवेशनको संघारसम्म आइपुग्दा महासंघको परिवारभित्र मिठो सम्बन्धबाट सुरु भएको तीन वर्षे नेपाल पत्रकार महासंघसँगको सङ्गत थोरै केही तिता अनुभूति संगालिएर सकिएको छ । नेतृत्वमा रहेका हामीबीच कुनै तिक्तता थिएन । असमझदारी भएन । हाम्रो कार्यकाल सकिए पनि सबै साथीहरुबीच सुमधुर सम्बन्ध झन् बढी भएको छ । भन्नैपर्छ धेरै काम गर्छु भन्ने प्रतिबद्धता जनाएर नेतृत्वमा आएको थिएँ । साथीहरुबीच गरेको वाचा बिर्सिएको छैन, सकेको गरियो, धेरै गरियो । उल्लेख्य काम गरियो । गरेका कामहरु दस्तावेजमा लिपिवद्ध भएका छन्, ती साक्षी छन् । निर्णय र कार्यान्वयन आफै बोल्छन् । यहाँ लेखेर साध्य लाग्दैन । नढाँटी फेरि भन्दैछु, भनेको जति काम गर्न सकिँन । किन सकिनस् ? प्रश्न गर्न पाउने अधिकार सबै पत्रकार साथीहरुसँग छ । साझा संस्थामा साझा ऐजण्डा बन्छन् र ती सामूहिक निर्णय गरेर कार्यान्वयनमा लैजानुपर्छ । नीतिगत रुपमा धेरै काम भएका छन् । दावी छ ः पत्रकारहरुको हक अधिकारको लागि धेरै नै गरिएको छ ।
भुकम्पको विपत्तिमा
हामी निर्वाचित भएको एकवर्ष लगत्तै नेपालमा ठूलो भुकम्प गयो । भुकम्पमा हामीले पत्रकार साथीहरुको लागि गरेको सहयोग साथीहरुले पक्कै बिर्सनु भएको छैन । हामी आफै आपतमा थियौं । आफ्नो आपतलाई बिर्सेर साथीहरुका लागि सकेको राहत बोकेर म आफै गोरखा पुगेँ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रे पुगेँ । नेपाल पत्रकार महासंघका सबै साथीहरु आ–आफ्ना ठाउँमा राहत बोकेर सहयोगका लागि सहरदेखि गाउँसम्म खटे ।
कहालीलाग्दा दिन मलाई सम्झना छ, २०७२ बैशाख २६ गते कोषाध्यक्ष सुर्यमणि गौतम र म सिन्धुपाल्चोक जाँदै थियौं । भुकम्पले चिरिएर गाडीकै चक्का छिर्ला जस्तो बाटो छिचोलेर चौतारा पुग्दा हामी माथि मुसलधारे पानी खनियो । स्थिति यति डरलाग्दो थियो कि हामी हिडिरहेको बाटो पनि तल भासिन्छ झै लाग्थ्यो । भुकम्पले सखाप भएको सहरमा बाँकी रहेका घरले पनि किचिहाल्छ कि भन्ने डर उत्तिकै थियो । तर पनि राहत बोकेर गयौं, साथीहरुलाई बाँड्यौं । साथीहरुलाई सान्त्वना दियौं ।
बेलुका चौताराबाट फर्कदा झमक्क रात प¥यो । चौतारामै बसौ भने पनि बस्ने ठाउँ थिएन । हामी चौताराबाट दोलखा हिड्यौं खाडीचौर नकट्दासम्म हाम्रो मुुटु कामिरहेको थियो । बिजुली चम्केर, मुटु काम्ने गरी चट्याङ परेको थियो भने बाटोभरी पहिरो थियो, रातमा हामीमात्रै एकान्तमा कुदिरहेका थियौं । बेलाबेला भुकम्पका पराकम्पले गाडीसमेत हल्लाइरहेको थियो । पहिरोले बाटो छेक्छ कि भन्ने उत्तिकै पीर थियो । भुकम्पको पराकम्पन र चट्याङसँगै हामी चरिकोट पुग्यौं राती १२ बजे ।
मध्यरातमा चरिकोटका पत्रकार रविन्द्र गौतमको भुकम्पले भत्काएको घर बाहिरको टेन्टमा सुत्यौं । राती पराकम्पनले निद्रै परेन, बिहानै हामी चरिकोट उक्लियौं । साथीहरुलाई भेट्यौं । सबैजनासँग कुराकानी ग¥यौं । हामीले लगेका सामान जति थियो, साथीहरुलाई बाड्यौं । दिउसो तामाकोशीको किनारमा भएको होटेलमा खाना खाएर रामेछापको मन्थली हिड्यौं, त्यहाँका साथीहरुलाई पनि हामीले लगेका सामानहरु दिएर काठमाण्डौ फर्कियौं । जताततै स्थिति कहालीलाग्दो थियो । हामीले चरिकोटमा सग्लो भेटेका जति घर पनि हामी फर्किएको भोलिपल्ट अर्थात २७ गते बाँकी नरहने गरी दोस्रो ठूलो भुकम्पले सिध्यायो । कान्तिपुरका दोलखा चरिकोट संवाददाता राजेन्द्र मानन्धरले अघिल्लो दिन हामीलाई चर्किएको घर देखाएका थिए, भोलिपल्ट त त्यही पनि बाँकी नरहने गरी नास गरेको खबर सुन्नुप¥यो । अघिल्लो दिन बसेर खाना खाएको तामाकोशीको किनारमा रहेको होटल भोलिपल्ट त आगलागी भएर सखाप भएछ । संयोग नै मान्नुपर्छ, धन्न त्यो घटनाबाट पनि उम्किन पायौं । दोस्रोचोटी मन्थली जाने क्रममा होटेलको हालत देख्दा आङ नै सिरिङ्ग भयो ।
गोरखाको हालत उस्तै थियो । नेपाल पत्रकार महासंघका तत्कालीन सचिव अनुपमा खनाल पाल पनि नपाएर सामान्य प्लास्टिकको ओत मुनि थिइन । कोही पत्रकारहरुको घर बाँकी थिएन । कान्तिपुरका पत्रकार भाइ सुदिप कैनी राज्यले सही ढङ्गले राहत नबाँडेको गुनासो सुनाउँदै थिए ।
भुकम्पका पराकम्पले पिरोलीरहे पनि हामी साथीहरुलाई सक्दो सहयोग जुटाउने कुरामा सक्दो प्रयास गरियो । देशविदेशबाट सहयोग पनि जुटिरहेको थियो । हामीले यहाँ आम पत्रकार साथीहरुलाई भन्नैपर्छ भुकम्प आउनुपूर्व हामीसँग विपद्को लागि भनेर एक रुपैयाँ पनि थिएन, अहिले समयमा उपचार नपाएर कोही पनि पत्रकार ज्यान गुमाउनु पर्ने स्थितिको अन्त्य भएको छ । जस्तोसुकै अप्ठ्यारोबाट पनि हामी पत्रकारहरुको लागि उपचारको लागि अस्पताल पु¥याउन सक्ने स्थितिमा छौ भन्दा हुन्छ । भुकम्पकै पाठ सिकेर २९ लाखभन्दा बढी विपद कोशको स्थापना भएको छ ।
धर्नाका अनुभूति
नेतृत्वमा आएदेखि नै पत्रकार साथीहरुले पत्रकारहरुले तलव नपाएको, नियुक्ति पत्र नपाएको, सरकारले तोकेको न्यूनतम तलब नपाएको गुनासो गरिरहेका थिए । पटक पटक केन्द्रीय समितिले निर्णय गरेर गुनासो गरिएको विषयमा सम्बन्धित संस्थाहरुमा जानकारी ग¥यौं, तर सुनुवाई भएन । अन्ततः हामी धर्नामै बस्न बाध्य भयौं । नेपालका पत्रकारले तलबको लागि मिडिया हाउसमा धर्ना बस्दैछन् भन्ने कुनै अंग्रेजी अखबारमा समाचार पढ्दा विदेशी पत्रकारहरु शीर्षक पढेरै कति हाँस्दा हुन् ? तर, हामी त्यो नियति पनि भोग्दै थियौं । चर्चा नै थियो नेपाली पत्रकारहरुको लागि ९० दिनको एकमहिना हुन्छ, तीन महिनासम्म पनि तलब नपाएर मिडिया हाउसमा धर्ना दिन जानु कम पीडादायी खबर थिएन यो । समाचार लेख्ने र भन्ने पत्रकारहरु आफै समाचारका शीर्षक बनेका थिए । पत्रकारलाई तलब देऊ भन्दै चर्को घाममा हिमालयन टिभी र एभिन्यूज टिभीको आँगनमा बसेको धर्ना नेपाली पत्रकारहरुको आन्दोलनमा नयाँ इतिहास नै भन्दा हुन्छ । धर्ना बसेरै भए पनि पत्रकार साथीहरुको तलब दिलाएका थियौं ।
अलिकति समीक्षा
नेपाल पत्रकार महासंघले नेपालको गणतान्त्रिक आन्दोलनमा निकै ठूला सङ्घर्षहरु गरेको छ । राजनीतिक दलहरु सडकमा ओर्लन नसकेको बेला पनि परिवर्तनको पक्षमा यसले खेलेको भूमिका निकै सह्रानीय छ । लोकतन्त्र बलियो भयो भने मात्रै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चिता ठान्ने महासंघले लोकतन्त्र प्राप्तिको आन्दोलनमा सहभागी हुनु कर्तव्य र जिम्मेवारी नै ठान्यो, विगतमा महासंघ र यसको नेतृत्वले खेलेको भूमिकालाई नजरअन्दाज गर्नु ठूलो भूल हुनेछ । जनयुद्धका बेला जेल हालिएका पत्रकारहरुको रिहाईको लागि गरिएको आन्दोलन बिर्सन सकिदैन । घाइते भएका पत्रकारहरुको लागि सुरक्षित ल्याएर उपचार गर्ने र विरामी पत्रकारको लागि देशविदेशबाट लाखौं उपचार खर्च जुटाएर उपचार गर्ने काममा नेपाल पत्रकार महासंघ कहिल्यै पछाडि हटेन । भुकम्पमा परेर ज्यान गुमाएका पत्रकारहरुको लागि राहत दिने, सहयोग गर्ने काम पनि उल्लेख गर्न लायक छ । यसका लागि विदेशमा रहेका शाखाहरुको योगदान चानचुने छैन । हाम्रै कार्यकालमा पूर्व सभापति गोविन्द वियोगी र पत्रकार सहिद कृष्ण सेनको स्मृतिमा नेपाल पत्रकार महासंघले पुरस्कार स्थापना गरेको छ । गर्र्दागर्दै पनि केही कमजोरीहरु भएका हुनसक्छन् । कतिपय गर्ने चाहना हुँदाहुँदै पनि साधनस्रोतको कमिका कारण गर्न सकिएनन् ।
हामीले नेपाल पत्रकार महासंघको भूमिकालाई विभिन्न ढङ्गले परिभाषा ग¥यौं । धेरै साथीहरुमा महासंघलाई कल्पवृक्ष नै ठान्ने प्रवृति पनि देखिन्छ । आफुले जे सोच्यो त्यो फल्नुपर्छ भनेर कल्पवृक्ष ठानियो भने सही हुँदैन । यस्ता संस्थाले समस्या परेको बेला छहारी दिनेसम्म काम गर्न सक्छन् भन्ने ठान्नुपर्छ । हामीमाथि असक्षमताको आरोप पनि लागेको छ । यो आरोप मात्र हो, आरोप पुष्टि हुने कुनै आधार छै्रन । साना–साना समस्यालाई बोकेर केन्द्रीय नेतृत्वमाथि हिलो छेप्ने, तालाबन्दी गर्ने काम हामी पत्रकारहरुका लागि स्वाभाविक लाग्ने घटना थिएनन् । विगतदेखि नै यस्तो प्रवृति थिए, अहिले यो बढ्दो छ । यी अस्वाभाविक लाग्ने घट्नाबाट धेरै पाठ पनि सिकाएको छ । समस्या आउँछन्, आग्रहपूर्वाग्रह पनि हुनसक्छन्, जानअन्जानमा कमिकमजोरी पनि हुन्छन् तर त्यसलाई हल गर्ने सजिला विधि हुँदाहुँदै पनि जटिलता थुपार्ने कामहरु भए । यस्तो प्रवृतिहरुलाई हामीले सच्चाउन सक्नुपर्छ ।
पत्रकार, पत्रकारहरुले नेतृत्व गर्ने संस्था नागरिक समाजका अगुवाहरु हुन् । उनीहरुले समाजलाई दिशानिर्देश गर्नुपर्छ । समाजलाई दिशानिर्देश गर्नेहरु नै असमझदारीको कुहिरोमा रुमल्लिलिने हो भने समाजले हामीबाट गरेको अपेक्षा पूरा हुन सक्दैन । त्यसकारण समाजलाई दिशानिर्देश गर्ने कुरामा हामी कहिल्यै पनि चुक्नुहुन्न । नेपाल पत्रकार महासंघको नेतृत्वमा बसेर तीन वर्ष जे ग¥यौं, नेपाली पत्रकारहरुको अधिकारकै लागि ग¥यौं ।
(लेखक नेपाल पत्रकार महासंघका उपाध्यक्ष हुनुहुन्छ)