इमेज च्यानलका अध्यक्ष आर के मानन्धर ह्नुदया भिन्तुना समारोह समितिको अध्यक्ष भएका थिए । नेपाल सम्वतको नयाँ वर्षको अवसरमा त्यो दिन उनले तीनवटा कार्यक्रममा प्रमुख अतिथिका हैसियतमा भाषण गरेका रहेछन् । उनी आफ्नो कार्यक्रमबारे समाचार शाखालाई खासै जानकारी दिंदैनथे । क्यामरा प्रमुखलाई पनि आफैं भन्थे र नरेन्द्र मानन्धर उनका निजी रिपोर्टर जत्तिकै थिए । उनी आफ्नो मात्र होइन, आफूले पठाउनैपर्ने रिपोर्टिङमा पनि नरेन्द्रलाई आफैं खटाउँथे । त्यो दिनको रिपोर्टिङ पनि नरेन्द्रले नै गरेका थिए । समाचारको स्क्रिप्ट फालेर उनले नै भिजुअल सम्पादन गरेका थिए । स्वाभाविक रुपमा त्यो दिनको पहिलो समाचार उनकै थियो, मुख्य समाचारको हेडलाइनमा पनि उनी नै थिए ।
उनले भाषणमा के भने भनेर भाषाका कारण पनि सम्पादन कक्षका स्क्रिप्ट सम्पादक जानकार थिएनन् । उनले महत्वपूर्ण के कुरा भने भन्ने पनि रिपोर्टरले नै थाहा पाएका हुँदा हुन् । नरेन्द्र आफ्नो काम सकेर घर फर्किसकेका थिए । समाचार कक्षका सम्पादकको काम उनले लेखेको स्क्रिप्टमा केही सूचनागत् वा तथ्यगत् त्रुटी भए सच्याउनुभन्दा अर्को काम थिएन । समाचार तयार भयो र त्यही अनुसार प्रसारण भयो ।
त्यसबेला आठ बजे पनि अर्को बुलेटिन जान्थ्यो । सायद अंग्रेजीमा थियो । म त्यसतिर ध्यान दिइरहेको थिएँ । कृष्ण केसी डेस्कमा थिए । उनले “ए बोस, तिम्रो साहूले मलाई थर्कायो नि” भने । “किन के भयो र” भन्ने मेरो स्वाभाविक प्रश्न थियो । उनले बताए– “साहुले नेपाल सम्वतको समाचार मेरो अनुहार पनि राम्रोसँग नदेखाइ सिध्याइ दिने ? तिम्रो गिरिजा, माधव नेपालको हरेक दिन दुई तीन मिनेट देखाउने । मेरो वर्षमा एकपटक आएको समाचार अनुहार राम्रोसँग नदेखाई सिध्याइदिने ? भनेर पो थर्कायो ।” मैले कृष्णलाई ठट्टाको शैलीमा सोधें– “तिमीले सम्पादक म कि तिमी भनेर सोधेनौ ?”
लगत्तै कम्पनीका उपाध्यक्ष मोहन सिंहको फोन मलाई आयो । मैले उनको फोन आउनुको कारण बुझिसकेको थिएँ र जवाफ के दिनुपर्छ भन्ने पनि तयार नै थियो । उनले फोनमा भने– “आरकेले के भन्दै थिए । समाचारमा के भएछ ?” उनी हरेक समाचार ध्यान दिएर हेर्ने मानिस हुन् । उसै पनि आरके ले नभनी उनले फोन गरेका पनि होइनन् । उनको स्वभाव सिधै केही नभन्ने, घुमाएर मर्काउन सकिन्छ भने बाँकी नराख्ने खालको छ । काठमाडौंको खाँटी नेवार सिंह भए पनि भाषामा स्पष्टता मात्रै छैन, शैलीमा ठकुरी बाबुसाहेवको जस्तो स्योस लगाउन पनि उनी खप्पीस छन् । मैले उनलाई यति मात्रै जवाफ दिएँ– मलाई अहिले आठ बजेको समाचार पठाउनु छ । भोलि बिहान कुरा गरौंला । मैले आठ बजेपछि फोन गर्छु पनि भन्न सक्थें । तर त्यसो भनिनँ । कारण, सम्पादकीय स्वतन्त्रताको विषय उनीसँग होइन, अध्यक्षसँगै गर्ने मेरो मन थियो ।
उपलब्धी जेसुकै होस्, इमेजको एउटा राम्रो पक्ष के थियो भने हरेक दिन बिहान साढे दस बजे सबै विभागीय प्रमुखहरुको बैठक अध्यक्षको च्याम्बरमा उपाध्यक्षका साथ हुन्थ्यो । त्यो बैठकमा आरके ले पक्कै कुरा उठाउने छन् र म सम्पादकीय स्वतन्त्रताको कुरा उठाउँछु, विवाद बढेछ भने राजीनामा दिन्छु भनेर राजीनामाको खेस्रा समेत बोकेर गएको थिएँ । तर उनले हिजोको समाचारको विषयमा एक शब्द पनि उठाएनन् । उपाध्यक्षले त पक्कै उठाउलान् भनेको, उनले पनि त्यो प्रसङ्ग नै कोट्याएनन् । मैले पनि यो विषयमा केही बोलिन । अरुदिन झैं स्वाभाविक ढङ्गमा बैठक सकियो ।
नेपाल पत्रकार महासंघको सभापतिबाट निवृत्त भएपछि मैले छापा माध्यममा नियमित काम गर्न छाडें । रेडियो नेपालका समाचार प्रमुख कृष्ण केसीले अचानक टेलिभिजनमा काम गर्ने अवसर सुनाए । मैले १५ वर्षभन्दा लामो अवधि छापा माध्यममा नै बिताएँ । देशान्तरको रिपोर्टरबाट सुरु भएको यो यात्रा केही साप्ताहिकका सम्पादकसम्म पुगेको थियो । कृष्णको आग्रहमा म इमेज मेट्रो च्यानलमा पुगेको थिएँ । शून्यको अवस्थाबाट समाचार कक्ष खडा गर्न प्राविधिक पक्षमा कृष्ण केसीले नै सघाएका थिए । छापा पत्रकारिता गरेका र पत्रकारिता नै नगरेका युवा युवतीहरु खोजेर र जोडेर इमेज समाचार कक्ष बनेको थियो । ती मध्ये राजन कुईकेल अझै त्यही छन् । सुरज आचार्य पछिल्लो समय विवादमा परेर आफैं सेवा निलम्वन गरेर बसेका छन् । अरु अब त्यहाँ बाँकी छैनन् ।
मैले मेरो इतिहासको यो प्रसङ्गलाई सम्पादकीय स्वतन्त्रताको कसीमा जोड्न चाहेको हुँ । त्यो घटना सम्पादकीय स्वतन्त्रताको विषय थियो कि थिएन, मलाई थाहा छैन । तर, मेरो काम गर्ने उत्साहलाई त्यो घटनाले मारेको थियो । मेरो विश्वास के हो भने पत्रकारितामा काम गर्दा आनन्द अनुभूति हुँदैन भने त्यहाँ पैसा त छैन । काम गर्ने वातावरण रहुञ्जेल मात्र त्यहाँ बस्नुपर्छ । मलाई आरके ले कुनै दिन केही भनेका होइनन्, न मैले उनको प्रतिक्रिया प्रत्यक्ष सुनेको हुँ । तर, मेरो मन त्यो घटनाबाट अमिलियो । विस्तारै म त्यो टेलिभिजनबाट बाहिरिएँ । महाराज ज्ञानेन्द्रको प्रत्यक्ष शासन सुरु भएपछि म फेरि इमेज फर्केको अर्कै प्रसङ्ग छ ।
सम्पादकहरु यो वा त्यो मिडियामा जाने नौलो प्रचलन होइन । न त यो रोकिएको नै छ । सायद किशोर नेपाल सबैभन्दा बढी मिडियाको सम्पादक बन्नुभयो होला । उनले ती मिडिया किन छाडे ? उनीसँगको आठ वर्षसम्मको निरन्तर पत्रकारिता र पत्रकार महासंघमा थप दुई वर्षको सहकार्यका आधारमा म उनका बारेमा भलिभाँती जानकार छु । त्यसैले उनले मिडिया छाड्नुपर्ने कारणका बारेमा म अनुमान लगाउन सक्छु । तर, मैले उनलाई यस विषयमा कहिल्यै सोधेको छैन । पत्रकारितामा उनको दक्षतामाथि औलो उठाउने साहस गर्दैन । कामप्रतिको स्वतन्त्रता उनका लागि कति प्यारो छ भने हामी पञ्चायती कालमा देशान्तरमा भोल्तेयरको एउटै मात्र दिव्यवाणी हाल्थ्यौं– म तिम्रा विचारसँग असहमत छु तर तिम्रो असहमत हुने अधिकार रक्षाका लागि निरन्तर लडिरहने छु । उनले मिडिया फेरि राख्नुपर्ने अरु कारण पनि छन् भने ती व्यक्तिगत हुन् ।
अर्का सम्पादक युवराज घिमिरे पनि हुन्, जसले धेरै घाटको पानी खाईसके । उनीसँग मेरो धेरै सङ्गत पनि छैन । कान्तिपुर उनले छाड्ने बेलाको रसेन्द्र भट्टराई प्रकरण धेरैले सुने बुझेका छन् । उनी निकालिए वा निस्किए ? यो पनि उनको वैयक्तिक मामिला ठानेर आजसम्म सोधिएको छैन । उनले अरु अखवारको पनि सम्पादकको अनुभव बटुले । उनी पछिल्लोपटक सम्पादक भएको अन्नपूर्णपोष्टमा यो ठूलो आकारमा प्रकाशित हुन लागेको प्रारम्भिक दिनदेखि नै स्तम्भकार थिएँ । श्री आचार्यले स्तम्भ नै दिनुभएको थियो– असहमति । जीवराम सिंखडा सम्पादक हुँदा लेख्ने कि नलेख्ने अन्योलका बीच लेखिरहें । दुईटा अखवार छुट्टिएर जानेबेला झण्डै एक वर्षको मेरो लेखन पारिश्रमिक मलाई त्यो कम्पनीले दिएन । दुईपटक प्रयास गरें । तर, अझै पाएको छैन । गुणराज लुईटेल सम्पादक भएर गएपछि पनि लेखनमा मलाई समस्या भएन । युवराज सम्पादक भएपछिका केही लेख रोकिए । म आफैं सधैं त्यो अखवार पढ्दिनथें । लेखेर मेल पठाउँथे, छापिन्थ्यो कि छापिदैनथ्यो, मलाई थाहा पनि हुन्थेन । कहिलेकाही मेरै पालाको बारमा त्यो पेजमा अन्तर्वार्ता छापिन्थ्यो । लोकमान सिंहकाबारे लेखेका दुईटा लेख नछापिएको भने मलाई पनि प्रष्टै थाहा छ ।
एक दिन विचार र सम्पादकीय पेजका सम्पादक विनोद न्यौपानेलाई लेख किन नछापिएको भनेर सोधें । किनभने कहिलेकाहीं लेख ढिलो हुँदा उनी नै खोजीखबरी गर्थे । उनले “हिजोआज लेखको अन्तिम टुङ्गो सम्पादक आफैंले लगाउनुहुन्छ, त्यसकारण किन छापिएन भन्ने थाहा भएन” भने । उनले यो पनि बताए– “उनको नीतिसँग नमिल्ने लेख छापिन छाडेको छ ।” म अन्नपूर्णको नीति समातेर स्तम्भकार भएकै होइन । कुनै सम्पादकसँग सहमत हुन पनि लेखेको होइन । मेरो स्तम्भको नाम नै असहमति थियो । पछिल्लो समय स्तम्भको नामै हटाइदिने गरियो । मैले सम्पादकको मुख सुघ्न आवश्यक ठानिन । केही नभनी लेख्न छाडें । केही अङ्कको लेखन पारिश्रमिक फेरि पनि बाँकी छ । एकाध पटक मागें । खबर गर्छु भने । तर, अझै खबर आएको छैन ।
युवराज घिमिरे आफैं कति सम्पादकीय स्वतन्त्रता खोजेर बाहिरिन्छन्, थाहा भएन । तर, लेखकको स्वतन्त्रता र सम्पादकको स्वतन्त्रताकाबीच मैले अन्तर थाहा नपाएर यो प्रसङ्ग पनि यहाँ उठाएको हुँ । भिन्न विचारले ठाउँ नपाउने सम्पादकीय नीति मिडियाको हुन्छ भन्ने मान्यताका आधारमा उनले मेरा लेख रोकेका हुन सक्छन् । त्यसो भए प्रकाशकले सम्पादकीय स्वतन्त्रतालाई सीमित गर्ने गरी आफ्नो मिडिया नीति बनाउन सक्छ भनेर मान्नुप¥यो । प्रेस स्वतन्त्रता कुनै कुरा छाप्ने र नछाप्ने अधिकारसँग जोडिएको हुन्छ । सम्पादकीय स्वतन्त्रता प्रकाशकको दवावमा मिडिया सामग्री निक्र्योल गर्ने कि नगर्ने भन्ने सम्पादकको अधिकारसँग जोडिएको हुन्छ । आरके मानन्धरको अपेक्षा धेरै ठूलो थिएन । उनी लगानीकर्ता हुँदैनथे भने पनि उनी त्यसदिनको समाचारका लागि योग्य र पर्याप्त ठाउँ पाउन लायक थिए । त्यो उनी आफैं रिपोर्टर बोकेर हिड्ने गरेका कारण उत्पन्न स्थिति थियो । पछि उनले आफैं बुझेर केही नभनेका होलान् । अन्यथा नेपाल वर्ष नयाँ सम्वतको खबर छोट्याएर वा सानो पारेर दिनुपर्ने कुनै कारण थिएन । त्यो लेख्ने र दृश्य सम्पादन गर्नेको कमजोरी मात्र थियो । सम्पादन कक्षको नियतमा खोट थिएन । तर, अरुको स्वतन्त्र विचारलाई रोक्ने स्वतन्त्रता खोज्ने सम्पादकले प्रकाशकको अधिकार पनि संरक्षण गर्न चाहेको त थिएन ? यो सम्पादकीय स्वतन्त्रताका विषयमा बहस हुनुपर्ने विषय हो ।
दुर्भाग्यवस, नेपाल पत्रकार महासंघको महाधिवेशन पत्रकारिताका यी आयामहरुबारे छलफल गर्ने थलो बन्न सक्दैन । दल र गुटको राजनीतिभित्र नेतृत्व खोज्ने प्रवृत्ति अन्त्य भएमा कुनै दिन फेरि हामी पत्रकार यो बहसमा उत्रौला । किनकि नेपाली पत्रकारितामा अहिले नै यो बहसको अन्त्य भइहाल्ने अवस्था छैन ।
(लेखक नेपाल पत्रकार महासंघका सभापति हुनुहुन्छ)