स्वास्थ्य मन्त्री थापामगर र सचिव डा गौतमसहितको टोलीले गर्यो ख्वप अस्पताल अनुगमन

भक्तपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगर र सचिव डा सुमित्रा गौतमसहितको टोलीले भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेको १ सय शैय्याको ख्वप: अस्पताल अनुगमन गरेका छन्।

अस्पतालको अवस्थाबारे स्थलगत निरीक्षण गर्दै उनीहरूले सेवाग्राहीहरूसँग प्रत्यक्ष कुराकानी गरे ।

सो अवसरमा मन्त्री थापामगरले भक्तपुर नगरपालिकालाई शिक्षा र स्वास्थ्यमा सर्वसुलभ सेवा प्रवाह गर्ने देशकै नमुना नगरपालिका भन्दै प्रशंसा गरे।

उनले ख्वप अस्पताल देशैभरिका बिरामीका लागि गन्तव्य बन्नेगरी सेवा दिइरहेको र यसको विकासका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए।

स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले ख्वप अस्पतालजस्तो नमुना अस्पताल प्रदेशका लागि गौरवको विषय भएको बताउँदै भक्तपुरको शिक्षा र स्वास्थ्य क्षेत्रको कार्य अन्य स्थानीय तहका लागि उदाहरणीय भएको उल्लेख गरिन्।

भक्तपुर नगरपालिकाका प्रमुख एवं ख्वप अस्पतालका अध्यक्ष सुनिल प्रजापतिले कम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा दिइरहेको ख्वप अस्पताललाई देशकै उत्कृष्ट बनाउन निरन्तर प्रयासरत रहेको जानकारी दिए।

उनले सिटी स्क्यान सेवा छिट्टै सुरु हुने र निःशुल्क अक्सिजन वितरण जस्ता कार्यक्रममार्फत जनमैत्री सेवा सञ्चालन भइरहेको पनि बताए।

ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेश प्रताप मल्लले अस्पतालले ३६५ दिन ११ घण्टा ओपीडी सेवा दिँदै आएको र स्वास्थ्य सेवाको पहुँच विस्तारमा उल्लेखनीय प्रगति भएको तथ्याङ्क प्रस्तुत गरे।

अनुगमनका क्रममा मन्त्री थापामगरले अस्पतालको ओपीडी, आकस्मिक कक्ष, अक्सिजन प्लान्ट, नर्सिङ कलेज, ल्याब, तीलगंगा आँखा अस्पताल शाखा, ब्रम्हायणीस्थित अन्तरंग सेवा, आईसीयू लगायतका सेवाको निरीक्षण गरेका थिए।

अनुगमनमा प्रदेश स्वास्थ्य मन्त्रालय, भक्तपुर अस्पताल, जनस्वास्थ्य प्रयोगशाला लगायतका विभिन्न निकायका उच्च अधिकारीहरुको उपस्थिति थियो।