महाधिवेशन सारेर ६ महिना कार्यकाल थप्यो पत्रकार महासंघले

काठमाडौं । विधानद्वारा निर्धारित महाधिवेशन सार्दै नेपाल पत्रकार महासंघले आफ्नाे कार्यकाल थपेकाे छ । बुधबार प्रविधिको प्रयाेग गरी गरिएकाे राष्ट्रिय भेला (जुम वेविनार)बाट महासंघले यस्ताे निर्णय गरेकाे हाे ।

विश्वव्यापी रुपमा नराम्ररी असर गरेकाे काेराेना भाइरस (काेभिड १९) कारण महासंघले बुधवार इन्टरनेटबाटै भर्चुअल भेला सम्पन्न गरेकाे छ । केन्द्रीय समितिका पदाधिकारी, सल्लाहकार, प्रदेश र जिल्ला शाखाका अध्यक्षहरुकाे सहभागितामा भएकाे वेवनारमा केन्द्रीय समितिका साथै प्रदेश समिति, जिल्ला, प्रतिष्ठान, एशाेसियट शाखाहरुकाे समेत कार्यकाल ६ महिना कार्यकाल थप गर्ने प्रस्ताव गरिएकाे थियाे । उक्त प्रस्ताव वेवनारमा पारित गरियाे ।

कोरोना महामारीको जोखिममा तत्काल महाधिवेशन सम्पन्न गर्न असम्भव देखिएकाले महासंघको विधान अनुसार कार्यकाल ६ महिना थप गरिएको महासचिव रमेश विष्टले विज्ञप्ति मार्फत जानकारी गराएका छन् । महासंघकाे वर्तमान केन्द्रीय कार्यसमितिको ३ वर्षे कार्यकाल यही भदौ ५ गते समाप्त हुँदैछ । महासंघकाे इतिहासमा केन्द्रीय महाधिवेशन सधै मे ३ मा हुने गरेकाे थियाे । तर, यसअघि पनि भुकम्प र नाकाबन्दी जस्ता समस्याका कारणले महासंघकाे महाधिवेशन भदाैमा भएकाे थियाे । यसपटक भने काेराेनाका कारण ६ महिना नै कार्यकाल थप भएकाे छ ।

महासंंघले हालका लागि केन्द्रीय महाधिवेशन, प्रदेश र शाखाहरुकाे अधिवेशनका लागि मिति पनि प्रस्ताव गरेकाे छ । जसअनुसार आउँदो फागुन ३ गते केन्द्र प्रदेश र शाखाको निर्वाचन गर्ने निर्णय सार्वजनिक गरिएकाे छ । त्यसअघि आउँदो मंसिर महिनाभित्र जिल्ला, प्रतिष्ठान र एसोसिएट शाखाको, पुस महिनाभित्रमा प्रदेश समितिहरुको र माघ ४ र ५ गते केन्द्रीय साधारणसभा सम्पन्न गर्ने निर्णय गरेको छ ।

Loading...