२४ घन्टामै थपिए ६८१ संक्रमित, काठमाडौं उपत्यकामा मात्रै १५९ कोरोेना पुष्टि

काठमाडौं, ३ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा ६८१ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये सबैभन्दा बढी संक्रमित राजधानी काठमाडाैंमै फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लाे समय गरिएका ११ हजार ५२२ जनाको परीक्षणमा ६८१ जना संक्रमित भेटिएको जनाएकाे छ । यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ ।

काठमाडौं उपत्यकामा नै पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना संक्रमण थपिएका छन । त्यसमध्ये काठमाडौंमा १३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जना छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भएर १२० डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १७ हजार ७०० पुगेको छ ।

कोरोनाबाट थप ७ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट बुधवार थप ७ जनाको मृत्यु भएको छ । पर्सामा दुई जनाको मृत्यु भएको छ भने काठमाडौं, भक्तपुर, मकवानपुर र सुनसरीमा एकएक जनाको मत्यु भएको छ । यससँगै कोराना संक्रमणबाट मृत्यु हुनेको संख्या १२४ पुगेको छ ।

वीरगञ्ज महानगरपालिका भिश्वा बस्ने ५७ वर्षीयको उपचारका लागि नारायणी अस्पतालमा लगिएकोमा मंगलबार दिउँसो ३ः३० बजे मृत्यु भएको हो । जिन एक्स्पर्ट विधिमार्फत कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो ।

वीरगञ्ज–४ विर्ता बस्ने ८४ वर्षीय कोरोना संक्रमित पुरुषको गण्डक अस्पतालमा उपचारका क्रममा मंगलबार राति १०ः३० बजे मृत्यु भएको छ ।

सुनसरीमा ७१ वर्षीया महिलाको बुधबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ । २३ साउनमा संक्रमण पुष्टि भएकी उनी २४ गते अस्पताल भर्ना भएकी थिइन् ।

त्यस्तै भक्तपुर, सूर्यविनायककी ६१ वर्षीया महिलाको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ चौकीटोलकी ६१ वर्षका पुरुषमा मृत्युपछि संक्रमण पुष्टि भएको छ । उनको मंगलबार राति मृत्यु भएको थियो ।

काठमाडौं महानगरपालिका असनका ९४ वर्षका वृद्धको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । निमोनियाका बिरामी उनको भदौ १ गते मृत्यु भएको र २ गते स्वाब सं‌कलन गरी बुधबार रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको हो ।

वीरगञ्ज महानगरपालिका रेशमकोठीकी कोरोना संक्रमित ४० वर्षीया महिलाको वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचारको क्रममा बुधबार दिउँसो सवा ४ बजे मृत्यु भएको हो । उनमा भदौ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

Loading...