निर्वाध सूचना र पहुँचको प्रत्याभूति अनिवार्यताका लागि निरन्तरताको अभियान । त्यसमा सामेल भएर हिडेको एक अभियन्ता । जुन अभियान अविछिन्न र निरन्तर छ । औंलामा गन्ने हो भने अभियन्ता भएर हिंडेको दुई दशक बितेको छ । जुन अभियानमा धेरै उतार चढाबको व्यवहारिक भोगाई रोमाञ्चक छन् । पछिल्लो पटक नेपाल पत्रकार महासंघको नेतृत्वमा आएपछि देखिने, भोगिने र हेरिने के हो ? यी अनुभूतिलाई यो कार्यकालको अन्तिममा आत्मसमीक्षामा परेका छन् ।
सबैभन्दा बढी ‘जपिने शब्द’ लोकतन्त्र ? बेला–बेला समाजमा घटने घट्ना र देखिने प्रवृत्तिहरुले लोकतन्त्रको सुन्दर गहना मानिने विधिको शासन, आचरणलाई गिज्याइरहेको छ । जसको प्रत्यक्ष वा अप्रत्यक्ष असर पत्रकारहरु माथि देखिन्छ । ह्वात्तै बढेको सामाजिक सञ्जाल, बग्रेल्ती खुलेका मिडियाका कन्टेन्ट हेर्दा सामाजिक विग्रह, आक्रोश, जवाफदेहीतामा उदासीनता, विधिको शासन, आचरणमा देखिएको विचलनले त्यसलाई प्रष्टै पार्छ ।
लोकतन्त्रका अनिवार्य शर्त पारदर्शिता, आचरण र विधिको शासन हुन् । जुन शर्त अनिवार्य कार्यान्वयन भएका छन् कि छैनन् ? भन्ने प्रश्न पक्कै उठेको छ । समाजको संरचना जुन ढङ्गले निर्माण हुँदै गएको छ, त्यही ढङ्गले लोकतन्त्रका अनिवार्य शर्तहरु भत्किदै गएका छन् । जसको प्रभाव मिडिया जगतमा प्रष्टै देखिन्छ । कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, राजनीतिक दल, कर्मचारीतन्त्र, सुरक्षा निकाय, नागरिक समाज, विभिन्न संघ संस्था तथा व्यक्तिमा देखिने लोकतान्त्रिक आचारणले नै समाज विकासको मापन गर्छ ।
प्रेस स्वतन्त्रता र व्यावसायिक पत्रकारिता समाज विकासका मूल आधार हुन् । कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाभित्रको कार्यसम्पादन लोकतन्त्रका मूल खम्बा पारदर्शिता, विधिको शासन पालना गरे कि गरेनन् ? भनेर सिधै मिडिया जगतले प्रश्न गर्नुपर्छ । त्यसैको आधारमा पत्रकारितालाई ‘चौथो अङ्ग’ भनिने विश्वव्यापी मान्यता हो । यतिबेला चौथों अङ्गको भूमिका के त ? भन्ने प्रश्नको जवाफ हामीले दिनैपर्छ ।
पछिल्लो पटक उच्चस्तरीय मिडिया आयोगले सरकारलाई बुझाएको ‘राष्ट्रिय आमसञ्चार नीति–२०७३’ले यसको थप पुष्टि गर्छ । ‘आमसञ्चारमाध्यमलाई स्वनियमन र स्वमूल्याङ्कनका लागि अभिप्रेरित गरी स्वच्छ, स्वस्थ र मर्यादित पत्रकारिताको विकास’, आमसञ्चार नीतिको मुख्य उद्देश्य मध्ये एक हो । अहिले मिडिया अध्यताहरुले औंल्याउने विषय पनि यसैभित्र बढी पर्छ ।
देखेर पूरा नभएको सपना
मिडियाले पस्किने विषयवस्तु र पत्रकारहरुको व्यवहारबाट नेपाली समाज अछुतो छैन । सकारात्मक होस् वा नकारात्मक टिप्पणी हामीले पटक–पटक सुन्ने गरेका छौं । नेपाली मिडियाले विकासमा मारेको फड्को र त्यसले पर्ने प्रभाव, त्यससँगै आएका अराजकता र विकृतिका चाङ अध्ययन गर्दा बराबरी देखिन्छ । जुन चाङबाट महासंघ अलग रहन सक्दैन । कतिपय विषयवस्तुका जवाफदेहीता सम्बन्धित मिडिया हाउसहरुसँग जोडिए पनि अन्ततः पत्रकारहरुको छाता सङ्गठन भएकाले महासंघसँग पनि प्रश्न उठ्छ नै । कतिपय विषयमा महासंघ बोलेको छ र कतिपय विषयमा आवश्यकताका सिद्धान्तका आधारमा अध्ययन मात्रै गरिएको छ ।
सञ्चार क्षेत्रमा उठेका यी प्रश्नहरुलाई हल गर्न के आवश्यक हो ? भन्ने विषयको पहिचान महासंघको यो नेतृत्वले ग¥यो । जुन एउटा ‘ड्रिम प्रोजेक्ट’का रुपमा लिइयो । कार्यान्वयन हुन सकेन । यो तीन वर्षे कार्यकालको एउटा गर्न नसकिएको विषयभित्र एक नम्बरमा आउनेछ । पत्रकारिता पेसालाई मर्यादित बनाउने उद्देश्य सहित परिकल्पना गरिएको ‘राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान’ हो । जुन प्रतिष्ठानलाई अहिले सरकारले विचाराधीन अवस्थामा राखेको छ ।
प्रशिक्षण प्रतिष्ठान किन चाहिन्थ्यो भन्ने आवश्यकतालाई उच्चस्तरीय समितिले समेत पष्ट्याइसकेको छ । सरकारलाई दिएको सुझावमा प्रष्ट्याएको छ । राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठनको आवश्यकताबारे सुझावमा भनिएको छ– ‘पत्रकारिता पेसालाई व्यावसायिक र मर्यादित बनाउन आमसञ्चार सम्बन्धी अध्ययन, अनुसन्धान र प्रशिक्षणद्वारा सञ्चारकर्मीहरूको सीप तथा दक्षता अभिवृद्धि र अद्यावधिक गर्न एवम् उच्चतम् व्यावसायिक अभ्यासका लागि प्रेरित गर्न राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्नैपर्छ ।’
जसबाट दक्ष जनशक्ति उत्पादन हुने र त्यसले ‘लोकतान्त्रिक शासन व्यवस्थामा मात्र प्रेस स्वतन्त्रताको प्रवद्र्धन र व्यावसायिक पत्रकारिता’लाई टेवा पु¥याउँछ भन्ने हाम्रो नेतृत्वको निष्कर्ष थियो । आमसञ्चार नीतिमा समेत रहेकाले त्यसको कार्यान्वयनसँगै प्रतिष्ठान गठन हुने आशा भने प्रचुर रुपमा देखापरेको छ । महासंघ अविछिन्न उत्तराधिकारी संस्था भएकाले भावी नेतृत्वले समेत यो सपना पूरा गर्ने आशा कायमै छ ।
मिडियामा देखिएको धु्रवीकरण
नयाँ संविधान जारी भएको २०७२ असोज ३ गतेको अघिल्लो दिनसम्म मध्य तराई÷मधेस घुम्दा आन्दोलन ३४ आंै दिन पुगेको थियो । मध्य तराई क्षेत्रको त्यो बेला दैनिकी हेर्दा ‘जनता के हुन ? तराई÷मधेस के हो ?’ भन्ने थुप्रै प्रश्न उब्जिएका थिए । जुन प्रश्नहरु त्यहीँका राजनीतिक दल, व्यापारी, प्रशासन, नागरिक समाज, संचारकर्मीहरुसँग छलफल भएका थिए । आन्दोलन, बन्द, हड्ताल, कफ्र्यू, दङ्गाग्रस्त क्षेत्रको घोषणा जस्ता कार्य ‘दैनिकी’ जस्तै भएको थियो । त्यसपछि नाकावन्दीको मार पनि बेहार्नुप¥यो ।
आन्दोलनबाट प्रत्यक्ष मारमा परेका पत्रकार र पत्रकारिताको भूमिका अध्ययनका लागि महासंघले मध्य तराई÷मधेस मिडिया मिसन सञ्चालन गरेको थियो । जसको नेतृत्व स्वयं मैले नै गरेको थिए । नेपाली समाज त्यसरी विभाजित हुनुमा दोष कसको भन्ने प्रश्न गम्भीर रुपमा खडा भएको थियो । यता जारी हुँदै गरेको नयाँ संविधानको धारा १९ मा–
‘विद्युतीय प्रकाशन, प्रशारण तथा छापा लगायतका जुनसुकै माध्यमबाट कुनै समाचार, सम्पादकीय, लेख, रचना वा अन्य कुनै पाठ्य, श्रव्य, श्रव्यदृष्य सामग्रीको प्रकाशन तथा प्रशारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्न पूर्व प्रतिबन्ध नलगाइने, कुनै श्रव्य, श्रव्यदृष्य वा विद्युतीय उपकरणको माध्यम वा छापाखानाबाट कुनै समाचार, लेख, सम्पादकीय, रचना, सूचना वा अन्य कुनै सामग्री मुद्रण वा प्रकाशन, प्रसारण गरे वा छापेवापत त्यस्तो सामग्री प्रकाशन, प्रसारण गर्ने वा छाप्ने रेडियो, टेलिभिजन, अनलाइन वा अन्य कुनै किसिमको डिजिटल वा विद्युतीय उपकरण, छापा वा अन्य सञ्चारमाध्यमलाई बन्द, जफत वा दर्ता खारेज वा त्यस्तो सामग्री जफत नगरिने र कानुनवमोजिम वाहेक कुनै छापा, विद्युतीय प्रशारण तथा टेलिफोन लगायतका सञ्चार साधनलाई अवरुद्ध नगरिने’ व्यवस्था गरियो ।
मधेसको एजेन्डा काठमाडौंले नसुन्ने । काठमाडौंमा दलका नेताहरुले तराई÷मधेसबारे दिने अभिव्यक्ति र राष्ट्रिय तहका मिडियाले मधेस एजेन्डामा स्वस्थ बहस केन्द्रित नगर्ने । स्थानीय तहमा बग्रेल्ती खुलेका एफएमका उत्ताउला, उत्तेजक समाचार प्रशारण, सामाजिक सञ्जालमा देखिने अनर्गल टिप्पणीले मधेसलाई कहाँ पु¥याउला ? यसको हेक्का राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, स्वयमले समेत गरेका थिएनन् । जतिबेला हामीले सुझाएका थियौं, पछिल्ला २ वटा मिसनले समेत त्यही निष्कर्ष निकाले । महासंघको सचेतपूर्वक आह्वान, मिसन, सङ्गठनात्मक निर्देशनबाट मिडियामा र समाजमा देखिने ध्रुविकरणको दुरी घट्दै गयो । यसमा महासंघको मिसनले निकालेका निष्कर्ष र मध्यस्थताले उल्लेख्य भूमिका निर्वाह गरेको छ ।
२०७२ भदौ ७ गते बरिष्ठ प्रहरी निरिक्षक लक्ष्मण न्यौपाने सहित ९ जनाको ज्यान जाने गरी आन्दोलन चर्कियो । कैलालीको टीकापुरमा चलेका अखण्ड पक्षधर र थरुहट पक्षधरबीचको तनावबाट स्थितिले गम्भीर मोड लियो । जसको मिडियामा सिधै प्रभाव देखियो । पहाडिया, मधेसी वा अखण्ड र थरुहट आन्दोलनबाट पत्रकार समेत विभाजित भएका थिए । जसलाई तोड्न महासंघको मिसनले सजह वातावरण सिर्जना गर्न सफल भयो । तराई÷मधेसमा चलेका सबै आन्दोलनका क्रममा सबै मिसनको नेतृत्व गर्ने जुन अवसर जु¥यो त्यसले नेपाली समाज निर्माणसँगै मिडिया पनि धु्रवीकरण भएको अनुभूति भयो । तर, त्यसलाई सहजीकरण गर्ने काम पनि काफी भए । जुन विषय महासंघको अभियानमा विरलै हुने घट्ना हुन ।
जिम्मेवार मिडिया
भूकम्पको अति जोखिमका बाबजुद नेपाली सञ्चारकर्मी र सञ्चारमाध्यमले समग्रमा निर्वाह गरेको भूमिका र पालना गरेको पेसागत दायित्व प्रशंसनीय बनेको कसैबाट छिपेको छैन । फेसबुक वालबाट ‘सबै बचौं । सबैलाई बचाउँ । जे सकिन्छ त्यो रूपमा सत्यतथ्य सूचना प्रवाह गरौं । पत्रकार साथीहरूलाई केही परे पदाधिकारीलाई फोन गरौं’ भनि विज्ञप्तिका रुपमा आह्वान गरियो । महाविपद्को अवस्थामा समाचार तथा दृश्यहरूको प्रकाशन÷प्रसारण गर्दा कुनै पनि हालतमा मिडियाको धर्म, पत्रकार आचारसंहिता र मानवीय संवेदनशीलतालाई सञ्चारजगतले धैर्यका साथ बुझ्ने काम गरेको ठहर महासङ्घले निकालेको छ । यी सकारात्मक कुरा कहिल्यै बिर्सन नसक्ने क्षणहरु हुन् ।
महासंघको एउटा आह्वानसँगै आफ्ना परिवारलाई समेत वास्ता नगरेर मुलुकले व्यहोरेको विपत्तिलाई पत्रकारहरुले सकारात्मक सन्देश दिन सफल भए । साहसिक पत्रकारिता र जिम्मेवार भूमिकाका निम्ति सम्बद्ध सबै पत्रकार र सञ्चारमाध्यमप्रति महासङ्घको साधारणसभाबाट सम्मान व्यक्त गर्दा हलले एक साथ ताली बजाएर सम्मान गरेको थियो । हलको सम्मानले के पुष्टि ग¥यो भने– ‘केही विपत्ले सकारात्मक पाठ सिकाएर जान्छ ।’
महासंघलाई निरन्तर अभियानमा डो¥याउँदा बेलाबेला आउने अड्चनका बाबजुत थुप्रै सकारात्मक काम भएका छन् । दुर्घटना बिमा, महासंघलाई ट्रेड यूनियनमा लाने सैद्धान्तिक रेखा कोर्ने काम, श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक बढाउने काम र मिडिया हाउसमा आन्दोलन, विरामी पत्रकारहरुको उपचार खर्च, कल्याणकारी कोषको बृद्धि जस्ता काम यथेस्ट भएका छन् । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारहरुको पेसागत तथा भौतिक सुरक्षाको निरन्तर रक्षा गर्दै नागरिक समाजको अगुवा संस्थाका रुपमा महासंघ थप मजबुत भएको छ । स्वयंसेवी संस्थाका रुपमा स्थापित संस्थालाई अनेक कोणबाट आक्षेप, आरोप प्रत्यारोप लगाउने प्रयत्न निरन्तर भए । त्यसका वावजुत महासंघको सिङ्गो टिमबीच देखिएको एकताले प्राकृतिक विपत्तिसँगै साङ्गठनिक रुपमा आइपरेका स–साना अवरोधलाई सहजै पार गरेको क्षण सबैभन्दा स्वर्णिम रह्यो ।
(लेखक नेपाल पत्रकार महासंघका महासचिव हुनुहुन्छ)