भक्तपुर नगरब्यापी लोकनृत्य प्रतियोगितामा सूर्योदय, माउन्ट भ्याली र लिटिल वर्ल्ड बने बिजेता

भक्तपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नगर कार्य समिति भक्तपुरद्वारा आयोजित नगर स्तरीय लोकनृत्य प्रतियोगिता आइतबार कमलविनायकमा सम्पन्न भएको छ ।

प्रतियोगितामा सूर्योदय इ. स्कुलले उत्कृष्ट प्रस्तुति दिँदै पहिलो स्थान हासिल गर्यो । माउन्ट भ्याली इ. स्कुल दोश्रो र  लिटिल वर्ल्ड इ. स्कुल तेस्रो स्थान हासिल गर्न सफल रहे ।

त्यस्तै, साइनिङ स्टुडेन्ट एकेडेमीले पनि चौथो स्थान हासिल गर्दै सान्त्वना उपाधी जित्यो । बिजेता बनेका यी चारवटै विद्यालय जिल्ला स्तरीय प्रतिस्पर्धाका लागि छनोट भएका आयोजक भक्तपुर नगर प्याब्सनका उपाध्यक्ष बिजय कर्माचार्यले बताएका छन्। जिल्ला स्तरीय प्रतियोगिता मंसिर ५ गते हुने उनले जानकारी दिए ।

कार्यक्रममा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले विजेता टोलीलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मेयर प्रजापतिले लोकनृत्यजस्ता गतिविधिले भक्तपुरलाई सांस्कृतिक शहरका रूपमा अझ पहिचान दिलाइरहेको उल्लेख गर्दै मौलिक कला–संस्कृति जोगाउन युवापुस्ताको सक्रियतामा जोड दिए ।

उनले शिक्षामा भक्तपुर नगर उदाहरणीय रहेको उल्लेख गर्दै स्थानीय पाठ्यक्रम मार्फत स्थानीय भाषा, कला, संस्कृति र सम्पदा लगायतको प्रवर्द्धनमा पनि ध्यान पुर्याइएको प्रष्ट पारे ।

कार्यक्रमका सभापति तथा प्याब्सन नगर कार्य समिति अध्यक्ष शिवकुमार कोजुले १७ विद्यालयको सहभागिताले प्रतियोगिता अझ प्रतिस्पर्धात्मक बनेको बताए।

विद्यार्थीका प्रतिभा प्रस्फुटनलाई प्राथमिकतामा राखेर वर्षभरि नै प्याब्सनले बिभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गरिरहेको उनले जानकारी दिए।