भक्तपुर ट्राफिक राजश्व बढाउनमा भन्दा जीवन बचाउन केन्द्रीत भयो : प्रहरी निरीक्षक खत्री

Pradip khatri
Pradip khatri

भक्तपुर । जिल्ला ट्राफिक कार्यालय भक्तपुरका प्रमुख रहेका प्रहरी निरीक्षक प्रदीप खत्रीले आफ्नो नेतृत्वको ट्राफिक प्रहरी राजश्व बढाउनमा केन्द्रीत नभई जीवन बचाउन केन्द्रीत भएको खुलासा गरेका छन् ।

सरुवा भइ अख्तियार दुरुपयोग अनुसन्धान आयोग जानेक्रममा आयोजित बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले अघिल्लो वर्षको तुलनामा सवारी दुर्घटना र त्यसबाट जीवन गुमाउनेको सख्या घटाउन सक्नुलाई उपलब्धिको रुपमा उल्लेख गरे ।

“अघिल्लो वर्षको तुलनामा हामीले राजश्व उठाउन सकेनौं तर, २० ज्यान गुमेकोको १३ मा झार्न सक्यौं ।” उनले भने,”दुर्घटना र मानवीय क्षति न्यूनीकरण गर्नसक्नु संतोषजनक रह्यो।”

ट्राफिक प्रहरी राजश्व उठाउन केन्द्रीत हुँदा जनसम्बन्ध कमजोर हुने र जनता भड्किने आफ्नो अनुभव सुनाउदै प्रहरी निरीक्षक खत्रीले गल्तीमा चिट काट्ने भन्दा सम्झाउने बुझाउने गर्दा सवारी चालकमा सकारात्मक सुधार पाइएको बताए । “पटकेलाई मात्र कार्वाहीको बानी बसालौ” उनले सुझाव दिए ।

सवारी जामको समस्याको दीर्घकालीन समाधानका लागि केहीस्थानमा एकतर्फी सवारी संचालनको रुटहरु लागू गर्नसक्नुलाई पनि उनले उपलब्धिको रुपमा उल्लेख गरेका छन् । त्यस्तै छ लेन सडकको चाप, पुराना साघुरा बाटाहरुको समस्या र निर्माणाधीन अरनिको राजमार्गको जोखिममा मातहतका प्रहरीले गरेको कामको उनले खुलेर प्रशंंसा गरेका थिए ।

ट्राफिक प्रहरी निरीक्षक खत्रीले नागरिक सचेतना कक्षा सञ्चालन र कार्वाहीमा परेका सवारी चालकलाई दिइने सचेतना कक्षालाई भक्तपुरमै प्रभावकारी रुपले सञ्चालन गर्नसकेकोमा सन्तोष ब्यक्त गरे ।

सूर्यविनायक नगरपालिकासंग समन्वय गरि ८ लाखको सचेतना कक्ष निर्माण गर्न सफल भएको उल्लेख गर्दै उनले जेनजी आन्दोलनबाट क्षति भएको सो कक्ष पुनर्निर्माण समेत सम्पन्न भएको जानकारी दिए ।

प्रहरी निरीक्षक खत्रीले जेनजी आन्दोलनमा आफूहरूले कल्पना नै नगरेक क्षति ब्यहोरेको बताए । “हामीले हाम्रा पोशाक समेत बचाउन सकेनौं तर, स्थानीय नागरिकहरुको साथले हामी केहीदिनमै नियमित कार्यालय संचालन गर्न सफल भयौं ।” उनले भने, “पुनर्निर्माणको ९० प्रतिशत कार्य सम्पन्न भएको छ ।”

ट्राफिक प्रहरी निरीक्षक खत्रीले जेनजी आन्दोलनबाट आफूहरूले मान्छे चिन्ने अवसर पाएको भन्दै सुखमा वरिपरि बस्ने भन्दा दु:खमा साथ दिने आम नागरिकप्रति सम्मान व्यक्त गरे । “दु:खमा साथ दिएर हामीलाई पुनर्स्थापित हुन हौसला र सहयोग गर्ने नागरिकप्रति सधैं नतमस्तक छौ ।”उनले भने ।

सो अवसरमा ट्राफिक प्रहरी निरीक्षक खत्रीले सडकमा नागरिकमैत्री ब्यवहार गर्न निर्देशन दिनुका साथै दुर्घटना रोक्न र भैहालेमा सुविधासम्पन्न अस्पतालमा पुर्याउनपर्नेमा जोड दिए ।

“पैसाको चिन्ता नगरौं, ज्यान भन्दा ठूलो पैसा होइन ।” उनले भने, ” अवस्था गम्भीर जस्तो लाग्यो भने नजिकको अथवा सरकारी अस्पताल भनेर नअल्मलिऔ, शुरुमै सुविधासम्पन्न अस्पतालमा पुर्याऔं ।”

प्रहरी निरीक्षक खत्री भक्तपुर ट्राफिक कार्यालयको प्रमुखको रुपमा आफ्नो एक वर्षे कार्यकाल पूरा गरी आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हाजिर भएका छन् ।

कार्यालयमा आयोजित बिदाई कार्यक्रममा ट्राफिक प्रहरीका अतिरिक्त ट्राफिक प्रहरी कार्यालय पुनर्निर्माण समितिका अध्यक्ष केशव कवां, उपाध्यक्ष कृष्णराम जाकीबन्जार, समितिका संरक्षक लक्ष्मण अवाल लगायतको समेत उपस्थिति रहेको थियो ।