काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले भगेर बिदेश गएको दाबी गरेका पूर्व उर्जामन्त्री दीपक खड्का सोमबार आफ्नै जलाइएको घरबाट सार्वजनिक भएका छन् । केही सञ्चारकर्मीहरूबीच सार्वजनिक भएका उनले सरकलाई आफू सम्बन्धी भ्रामक सूचना नफैलाउन आग्रह गरे ।
उनले पछिल्ला दिनमा आफ्नो विषयमा आएका समाचारहरू गलत र भ्रामक भएको दाबी गर्दै थपे, “मेरा बारेमा सत्तासीन व्यक्तिको भनाइलाई नै सत्य ठानियो, तर त्यो गलत हो ।”
उनले आफू देश छोडेर भाग्नु पर्ने कारण नरहेको उल्लेख गर्दै आफूलाई बद्नाम गराउन सरकारकै मानिसहरू लाग्नु दुःखद् रहेको बताए ।
“भदौ २३ र २४ गतेको आन्दोलनपछि हामी नेपाली भएर बाँच्न पाउने कि नपाउने भन्ने अवस्थासम्म पुग्यौँ ।” उनको भनाइ छ । उनले बिगतलाई बिर्सिएर मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । नयाँ सरकारलाई आफूहरूले आत्मसात गरेको र यसले पूर्वाग्रह राख्नु नहुने उनको भनाइ छ ।
खड्का अपदस्त सरकारमा उर्जा, जलश्रोत तथा सिचाइ मन्त्री थिए । कुलमान घिसिङलाई हटाउन लागिपरेका उनी ब्यापारीको बक्यौता मिनाहा तथा विभिन्न अनियमिततामा जोडिएका कारण बद्नामी कमाएका थिए ।
आन्दोलन लगत्तै उनी भारत हुँदै अमेरिकी पलायन भएका र त्यहाँ समेत बस्न नसकी हङकङ पसेका समाचार सार्वजनिक भएका थिए । अन्तरिम सरकारका गृहमन्त्रीले नै एक अन्तर्वार्तामा खड्का भागेका भनेपछि दोश्रो दिन उनी सार्वजनिक भए । ब्यापारी पृष्ठभुमिका खड्का संखुवासभाबाट प्रतिनिधि सभा सदस्य भएका थिए ।







