जनमुक्ति सेनासंग पूर्वमन्त्रीको आग्रह- उपलब्धिको रक्षा, देश र जनताको सुरक्षा गरिदिनुस्

सर्लाही । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पूर्व जनमुक्ति सेना संघ, नेपाल मधेश प्रदेशको भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार सर्लाहीको बागमती नगरपालिका–स्थित भरत तालमा भेला सम्पन्न भएको हो ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय आयोजक समिति सदस्य तथा तत्कालीन जनमुक्ति सेना नेपालका ब्रिगेड कमिसार जोगकुमार बर्बरिया यादव ‘जीवन’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा तत्कालीन बटालियन कमिसार क्षेत्रबहादुर श्रेष्ठ ‘अनिल’ले भेलाको औचित्य र महत्त्वमाथि  प्रकाश पारेका थिए ।

भेलामा मधेशका आठवटै जिल्लाका इन्चार्जहरू, जनमुक्ति सेनाका पूर्व कमाण्डरहरू, तथा पार्टीका विभिन्न तहका नेताहरूको उपस्थिति रहेको थियो।

भेलाले अरुणकुमार साह (अनिल) र राजेन्द्रप्रसाद सिंह (रक्की) लाई पूर्व जनमुक्ति सेना संघको मधेस प्रदेश संयोजक र सह–संयोजकको जिम्मेवारी दिएको सर्लाही जिल्ला अध्यक्ष टङ्क बहादुर बोहराले बताए । पूर्व जनमुक्ति सेना संघको मधेस प्रदेश आयोजक समिति ३७ सदस्यीय बनेको उनले बताएका छन् ।

कार्यक्रममा माओवादी केन्द्रको सर्लाही जिल्ला इन्चार्ज तथा केन्द्रीय महाधिवेशन समितिका सदस्य अच्युत्तम प्रसाद काफ्लेले जनमुक्ति सेनाको गतिविधि, योगदान र बलिदान कहिल्यै बिर्सन नसकिने बताए ।

matrika yadav

सो अवसरमा भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रको मधेस प्रदेश इन्चार्ज मातृकाप्रसाद यादवले तत्कालीन १० वर्षे जनयुद्धमा सहादत प्राप्त वीर सहिदहरू, बेपत्ता र घाइते योद्धाहरू पार्टीको मात्र नभई राष्ट्रकै सम्पत्ति भएका बताए ।

सहिद, बेपत्ता परिवार र घाइते योद्धा प्रति राज्यले सम्मानजनक ब्यवहार गर्नुपर्नेमा जोड दिदै उनले वर्तमान राजनीति संकटमा जनमुक्ति सेना थप सचेत रहनुपर्ने आवश्यकता औल्याए ।

देश भू-राजनीतिक चपेटामा पर्दै गएको र जनमुक्ति सेनाले वर्तमान अवस्थाको विश्लेषण गरि जनयुद्धको उपलब्धिको रक्षा गर्दै देश र जनताको सुरक्षा गर्नुपर्ने जिम्मेवारी लिन उनले आग्रह समेत गरेका छन् ।