भक्तपुर नगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा

भक्तपुर । भक्तपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ। नगर प्रमुख सुनिल प्रजापतिले बिहीबार आयोजित कार्यक्रममा औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितताको घोषणा गरे।

घोषणा कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको भूमिकामा थप जिम्मेवारी बढेको उल्लेख गर्दै सरकारले प्रमाणित गरेका खोप सबै नागरिकको पहुँचमा पु-याउन जोड दिनुपर्ने बताए। उनले कोभिड महामारीले खोपको महत्व झनै देखाएको र खोपलाई बेवास्ता गर्न नहुने पाठ दिएको पनि स्मरण गरे।

उपप्रमुख रजनी जोशीले स्वस्थ पुस्ता निर्माणका लागि खोपको महत्त्वपूर्ण योगदान रहेको बताउँदै सभ्य र समृद्ध समाज निर्माणमा सबैको सहकार्य आवश्यक रहेको धारणा राखिन्।

जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अन्जना खड्काले भक्तपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित बनाउने अभियानमा साथ दिने सबैलाई धन्यवाद दिँदै भक्तपुर जिल्लाका चारवटै नगरपालिका अब पूर्ण खोप सुनिश्चित पालिकाका रूपमा स्थापित भएको जानकारी दिइन्।

कार्यक्रममा प्रमुख खड्काले नगर प्रमुख प्रजापतिलाई प्रमाणपत्र हस्तान्तरण गरिन् भने प्रमुख प्रजापतिले नगरका १० वटै वडाका वडाध्यक्षलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरे।

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले स्वागत मन्तव्य दिएका थिए। खोप फोकल पर्सन कमलकेशरी राजचलले नियमित खोप कार्यक्रम र दिगोपनाबारे डाटा प्रस्तुत गरेका थिए।