भक्तपुर । इँटाभट्टामा मजदुरी गर्ने बाबुआमालाई सघाउदै एसईई तयारी गरेकी गोमा श्रेष्ठले ४ जीपीए हासिल गरेपछि प्रख्यात भाटभटेनी सुपरमार्केटको नजर पनि उनीमाथि परेको छ ।
उनले एमबीबीएस पढ्ने र डाक्टर बन्ने अठोट राखेकी सञ्चार माध्यमबाट थाहा पाएपछि भाटभटेनी सुपरमार्केटका अध्यक्ष मिनबहादुर गुरुङ र उनकी धर्मपत्नी सावित्री गुरुङले गोमाको एमबीबीएससम्मको सम्पूर्ण अध्ययन खर्च बेहोर्ने आश्वासन दिएका छन् ।
भाटभटेनीको कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा गोमालाई रु. १ लाख नगद, ल्यापटप, र सम्मानपत्र प्रदान गर्दै गुरुङ दम्पतिले गोमाको अथक मेहनत र आत्मविश्वासको प्रशंसा गर्नुका साथै उनको एमबीबीएसको शैक्षिक यात्रामा सम्पूर्ण आर्थिक सहयोग गर्ने आश्वासन दिएका हुन् ।
“हामी सपना देख्न सक्ने हरेक युवाको साथमा छौं,” भन्दै अध्यक्ष गुरुङले गोमाको यो यात्रा अब सुरु भएको र यो यात्रा हजारौँ युवाहरूको लागि प्रेरणाको स्रोत बन्ने विश्वास ब्यक्त गरे ।
गोमा श्रेष्ठको संघर्ष र सफलताले सिङ्गो देशले यतिबेला उनलाई प्रशंसा गरिरहेको छ ।
सफल ब्यवसायिक प्रतिस्ठान भाटभटेनीको आश्वासनले आफूलाई शैक्षिक उचाइ हासिल गर्न अझ उत्प्रेरित गरिरहेको गोमाले प्रतिक्रिया दिएकी छन् ।
रामेछापको सुनापति-५ खनियापानी स्थायी घर भएकी गोमा भक्तपुरको चाँगुनारायणस्थित एक ईंटाभट्टामा अभिभावकसँगै बसेर चाँगुनारायण नगरपालिका–८ स्थित महेन्द्रग्राम माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएकी थिइन्।
गाउँमा घरदेखि विद्यालय टाढा भएकोले गोमाका बाबुआमाले उनलाई ४ वर्षको उमेरदेखि नै चाँगुनारायण ल्याएर पढाउन थालेका थिए ।
बहिनीहरु हेर्दै र बुवाआमालाई काममा सघाउदै अध्ययन अघि बढाएकी गोमा एसईईमा ४ जीपीए ल्याउने नगरपालिका अन्तर्गतका विद्यालयकै एक्ली विद्यार्थी बनेपछि उनको चर्चा चुलिएको छ ।
भक्तपुर २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले यस् अघि नै उनलाई कक्षा १२ सम्म पढाउने सम्पूर्ण खर्च ब्यहोर्ने प्रतिवद्धता प्रकट गरिसकेका छन् ।