एक दशकपछि पाकिस्तानी बायुसेवा प्रमुखको अमेरिका भ्रमण

रावलपिन्डी । पाकिस्तानी वायुसेनाका प्रमुख एयर चिफ मार्शल जाहिर अहमद बाबर सिद्दुले अमेरिकाको आधिकारिक भ्रमण गरेका छन्।

करिब एक दशकपछि बायुसेवा प्रमुखले गरेको यो पहिलो भ्रमणले पाकिस्तान–अमेरिका रक्षा सहकार्यलाई नयाँ उचाइमा पुर्‍याएको छ।

अमेरिकी भ्रमणका क्रममा एयर चिफ मार्शल सिद्दुले पेन्टागनमा अमेरिकी वायुसेनाका स्टाफ प्रमुख जनरल डेविड डब्ल्यू. अल्भिन र अन्तर्राष्ट्रिय मामिलासम्बन्धी सचिव केली एल. सेइबोल्टसँग भेटवार्ता गरे।

उनीहरूले दुवै देशबीच सैन्य सहकार्य विस्तार, संयुक्त तालिम, प्रविधि हस्तान्तरण र सहकार्यको विविध आयाममा छलफल गरेका थिए।

वाशिंगटनस्थित अमेरिकी विदेश मन्त्रालयमा भएको भेटघाटमा उनले राजनीतिक–सैन्य मामिलाका स्ट्यान्ली ब्राउन र दक्षिण तथा मध्य एसियाली मामिलाका एरिक मेयरसँग पनि छलफल गरे।

यि छलफलहरूमा पाकिस्तानको क्षेत्रीय स्थायित्वप्रति योगदान, आतंकवादविरुद्धको दृढ प्रतिबद्धता र बदलिँदो भूराजनीतिक परिदृश्यप्रतिको पाकिस्तानको दृष्टिकोणबारे चर्चा भयो।

क्यापिटल हिलमा अमेरिकी सांसदहरू माइक टर्नर, रिच म्याककर्मिक र बिल हुइजेंगासँग पनि उनले विचार–विमर्श गरेका थिए।

पाकिस्तानको रणनीतिक सोच, सुरक्षा चुनौती, क्षेत्रीय सुरक्षा संरचना र उदाउँदो प्रविधिको प्रभावबारे धारणा राख्दै उनले दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने संकेत दिएका थिए।

एयर चिफले पाकिस्तानले शान्तिप्रेमी राष्ट्रको रूपमा गरेको बलिदान र विश्वव्यापी आतंकविरुद्धको युद्धमा प्राप्त सफलता उल्लेख गर्दै बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न पाकिस्तानको तत्परता प्रकट गरे।

यो भ्रमणले पाकिस्तान–अमेरिका वायुसेनाबीच आपसी तालमेल, रणनीतिक संवाद र संयुक्त सैन्य अभ्यासलाई अझै मजबुत बनाउने आधार तयार गरेको पाकिस्तान सेनाको जनसम्पर्क शाखा (ISPR) ले जनाएको छ।