भक्तपुर । नेपालमा पनि नटवरलालहरुको कमी छैन । हुँदै नभएको पद हो भन्दै ठगी गर्ने प्रवित्ति पुरानै हो । भक्तपुर यस्तै दुई ब्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।
आफूलाई नेपाली सेनाको ‘मेजर’ र ‘डिएसपी’ बताउँदै सर्वसाधारणलाई धम्की दिने दुई व्यक्ति भक्तपुर प्रहरीको फन्दामा परेका छन्।
पहिलो घटना भक्तपुरको ब्यासीमा भएको हो। रामेछाप मन्थली नगरपालिका–७ का रुद्रराज कार्की (वर्ष ३८) ले आफूलाई सेनाको मेजर भन्दै ट्याक्सी चालकलाई धाकधम्की दिएका थिए। कार्की हाल भक्तपुरको ताथलीमा बस्दै आएका छन्।
कौशलटारबाट ट्याक्सी चढेका कार्कीले भक्तपुर पुगेर भाडा तिर्न नमानेर उल्टै चालक मनोज न्यौपानेलाई धम्क्याएका थिए। उनले आफू मेजर भएको बताउँदै पैसा नदिने अडान लिएका थिए।
चालकले तत्काल प्रहरीलाई खबर गरेपछि भक्तपुर जिल्ला प्रहरी परिसरले उनलाई नियन्त्रणमा लियो । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता रहेका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार कार्कीविरुद्ध थप अनुसन्धान भइरहेको जानकारी दिए । घटना बिहीबारको भएको उनको भनाइ छ ।
त्यसैगरी अर्को घटना शुक्रबार अपराह्न ४ बजे कौशलटारमा सार्वजनिक भयो।
सिरहा बारियारपट्टी गाउँपालिका–५ का काशिन्द्र कुमार ठाकुर (२७)ले आफूलाई ‘ डिएसपी’ भन्दै विभिन्न व्यक्तिलाई ठगी गर्ने गरेको खुलेपछि पक्राउ परेका छन् । उनी हाल काठमाडौं जोरपाटीमा बस्दै आएका छन्।
ठाकुरले मध्यपुर थिमि नगरपालिका–२ स्थित दिव्यश्वरी क्षेत्रमा ठगीमा परेका पीडितहरूको पैसा उठाइदिने भन्दै डिएसपीको नाममा प्रभाव देखाउँदै ठगी प्रयास गरेका थिए।
सूचनाको आधारमा खटिएको प्रहरी वृत्त थिमिको टोलीले ठाकुरलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बृत्त प्रमुख नवराज ढुङ्गानाले पुष्टि गरेका छन् ।
सामाजिक सञ्जालको प्रभावको दुरुपयोग र नक्कली पहिचानको आडमा ठगी गर्ने क्रम बढिरहेको अवस्थामा यस्ता घटनाले सावधानी अपनाउनु पर्ने सन्देश दिएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख रहेका प्रहरी उपरीक्षक माधव बुढाथोकीले नागरिकलाई सतर्क रहन आग्रह गर्दै यस्तो व्यवहार देखिएमा तुरुन्त नजिकको प्रहरी कार्यालयमा जानकारी दिन ननस्टपखबरमार्फत अनुरोध गरेका छन् ।