मिर्गौला रोगीको प्रेरणा बनेका पेम्बालाई प्रत्यारोपण केन्द्रको सम्मान

भक्तपुर । सोलुखुम्बु जिल्लाका ३७ वर्षिय पेम्बा शेर्पाले मिर्गौला प्रत्यारोपणपछि संसारकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्दै विश्व कीर्तिमान कायम गरेका छन् ।

मिर्गौला प्रत्यारोपणपछि सर्वोच्च शिखरमा पाइला टेक्ने उनी विश्वकै पहिलो व्यक्ति बनेका हुन्।

भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पेम्बाको यो ऐतिहासिक उपलब्धिलाई विशेष सम्मान प्रदान गरेको छ। शुक्रबार केन्द्रमा आयोजित कार्यक्रममा उनलाई प्रमाणपत्र, फूलमाला र १ लाख ५० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।

सम्मान समारोह कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले पेम्बा अन्य मिर्गौला रोग पीडितहरुका लागि प्रेरणा बनेको बताए
डा. श्रेष्ठले भने, “पेम्बाको साहस, धैर्यता र आत्मबलले विश्वभरका मिर्गौला प्रत्यारोपण गराएका बिरामीलाई नयाँ आशा र उर्जा थपिदिएको छ। उनको सफलतामा केन्द्रले मात्र होइन, सिङ्गो देशले गर्व गरेको छ।”

उनले गत वर्ष सन् २०२४ को मे २२ मा सफलतापूर्वक सगरमाथाको शिखरमा पाइला टेकेका थिए ।

वैदेशिक रोजगारीको सिलसिलामा जापानमा ६ वर्ष काम गरी नेपाल फर्किने क्रममा पेम्बालाई अचानक शारीरिक कमजोरी अनुभव भयो। परीक्षण गर्दा दुबै मिर्गौला फेल भएको पत्ता लागेको थियो। त्यसबेला उनलाई संसार रित्तो लागेको थियो ।

२०७९ कात्तिकमा पेम्बाका आफ्नै बुवाले दिएको मिर्गौला केन्द्रले प्रत्यारोपण गरिदिएपछि उनले पुनर्जन्म पाएको अनुभव सुनाए ।

“जिन्दगी एकैछिनमा भत्किएजस्तो लाग्यो,” पेम्बा भन्छन्, “तर डराइनँ। बाबाको अङ्ग, चिकित्सकको सेवा र परिवारको साथले मलाई पुनर्जीवन दिलायो।” उनले आफ्नो सफलताको श्रेय बाबुआमा, चिकित्सक टिम र परिवारलाई दिएका छन्।

 

अबको जीवन समाजसेवामा समर्पित गर्ने बताएका उनले मिर्गौला प्रत्यारोपणपछि पनि सामान्य जीवन सम्भव छ भन्ने सन्देश फैलाउने सगरमाथा आरोहण गरेको बताएका छन्। पेम्बाले गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम दर्ता गर्ने प्रक्रिया अगाडि बढाएको जानकारी पनि गराए ।

सो अवसरमा केन्द्रका चिकित्सक, कर्मचारी, स्थानीय र पत्रकारले पेम्बाको साहसको प्रशंंसा गरेका थिए ।

प्रत्यारोपण केन्द्र