ललितपुर । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वयमा पत्रकारका लागि बृहत् स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको छ ।
जनस्वास्थ्य कार्यालय ललितपुर र बज्रबाराही चापागाउँ अस्पतालको संयुक्त आयोजनामा आयोजित शिविरमा ललितपुरमा कार्यरत पत्रकारहरूलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्रदान गरिएको हो।
शिविरमा नसर्ने रोग, मधुमेह (सुगर), रक्तचाप (प्रेसर), मुटु, मृगौला, दाँत, आँखा, स्त्रीरोग, CBC, RFT, LFT, र एक्स–रे लगायतका परीक्षणहरू गरिए। साथै, ६० वर्ष नाघेका पत्रकारहरूलाई निःशुल्क चश्मा वितरण पनि गरिएको थियो।
महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीका अनुसार शिविरमा ७७ जना पत्रकार सहभागी भए। उनले पत्रकारहरूलाई लक्षित गरेर गरिएको यो कार्यक्रम निकै सफल र प्रभावकारी भएको प्रतिक्रिया दिएका छन् ।
परीक्षणमा सहभागीमध्ये २७ जना पत्रकारमा मधुमेह र १० जनामा उच्च रक्तचापको लक्षण देखिएको डा. अमरदिप साहले जानकारी दिए। उनले भने, “पत्रकारहरू अरूका लागि दिनरात खटिए पनि आफ्नो स्वास्थ्यप्रति बेखबर रहँदा जोखिम बढ्न सक्छ।”
बज्रबाराही अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अंकुर पौडेलले पनि पत्रकारहरू आफ्नो स्वास्थ्यप्रति सचेत हुनुपर्नेमा जोड दिए ।
जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. भुवन पौडेलले शिविरले राज्यको चौथो अङ्ग मानिने सञ्चार क्षेत्रमा कार्यरत पत्रकारको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बिश्वास ब्यक्त गर्दै आगामी दिनमा यस्ता शिविरलाई निरन्तरता दिने प्रतिबद्धता प्रकट गरे ।
नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका अध्यक्ष टेनिस रोकाले ललितपुर शाखा, जनस्वास्थ्य कार्यालय र बज्रबाराही अस्पताललाई धन्यवाद दिंदै भने, “स्वास्थ्य शिविर उदाहरणीय बन्यो, अन्य जिल्लाहरूले पनि यस्ता प्रयासबाट सिकेर अगाडि बढ्नुपर्छ।”