महिनावारी सचेतनाका लागि उपत्यकामा साइकल यात्रा

भक्तपुर । “महिनावारी मैत्री विश्वव्यापी हातेमालो” नाराका साथ  काठमाडौं, भक्तपुर र ललितपुर तीनै शहरमा ३ सय ९२ जना साइकल सचेतनामूलक साइकल यात्रा गरेका छन्।

एक्सपोज नेपालको आयोजनामा भएको र्‍यालीमा ३ सय ५२ जना महिलासहितका साइकल यात्रीको सहभागिता रहेको थियो। बसन्तपुर र भक्तपुर दरबार क्षेत्रबाट सुरु भएको यो र्‍याली ललितपुरको मंगलबजारमा पुगेर समापन भयो।

साइकल यात्रा महिनावारी स्वच्छताबारे सन्देश फैलाउने उदेश्यले गरिएको थियो ।

कार्यक्रमको समापन समारोहमा वक्ताहरूले महिनावारीको समयमा अझै पनि घरभित्रै हुने भेदभाव र सामाजिक अपहेलनाबारे गहिरो चिन्ता व्यक्त गरे।

राष्ट्रिय महिला आयोगकी कार्यवाहक अध्यक्ष कृष्णकुमारी पौडेल खतिवडाले महिनावारी स्वच्छता सुनिश्चित गर्न राज्यले स्पष्ट नीति बनाएर अगाडि बढ्नुपर्ने बताइन्। “समस्या घरभित्रबाट सुरु हुन्छ, त्यसैले परिवर्तन पनि घरमैबाट हुनुपर्छ,” उनले भनिन्।

ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले समाजले महिनावारीलाई अझै पनि कलङ्कको रूपमा हेर्ने सोच बदल्नुपर्ने धारणा राखिन्। सार्वजनिक संस्थाहरूको अभियानले मानसिक र सामाजिक विभेद अन्त्य गर्न ठूलो भूमिका खेलिरहेको उनको भनाइ थियो।

‘नेपाली प्याड म्यान’ भनेर चिनिने ज्ञान महर्जन, जो एक्सपोज नेपालका संस्थापक पनि हुन्, उनले आठ वर्षअघि शुरु भएको साइकल र्‍यालीमा जम्मा ७० जनामध्ये एक मात्र महिला सहभागी भएको स्मरण गरे। “आज ९० प्रतिशत महिला सहभागी हुनु परिवर्तनको प्रतिबिम्ब हो,” महर्जनले भने।

महर्जनको नेतृत्वमा एक्सपोज नेपालले देशभरका सयौं महिलालाई पुनः प्रयोग गर्न मिल्ने प्याड उत्पादन र बिक्रीमा संलग्न गराउँदै आर्थिक रूपमा सक्षम बनाउँदै आएको छ।

साइकल र्‍यालीमा सहभागी महिलाहरूले महिनावारीका बेला घरभित्र थुनिनुपर्ने, अलग थलोमा बस्नुपर्ने, वा भिन्न व्यवहार सहनुपर्ने असामाजिक मान्यता चिर्न आफूहरू सडकमा उत्रिएको बताए।

यस अभियानमा वाटरएड नेपाल, राष्ट्रिय महिनावारी सञ्जाल (MHMPA), वेल्ट हंगर हिल्फे, एसएनभी नेपाल, युके इन्टरनेशनल डेभलपमेन्ट, युवा नेपाल, राइट हियर राइट नाउ नेपाल, र डिग्निटी विदआउट डेन्जर जस्ता संस्थाहरूले सहयोग गरेका थिए।

महिनावारीलाई लाज होइन, स्वास्थ्य र आत्मसम्मानको विषयका रूपमा हेर्नु पर्ने सन्देश र्‍यालीभरि गुञ्जिएको थियो।