भक्तपुर । नेकपा (माओवादी केन्द्र) चाँगुनारायण नगर समितिको दोस्रो सम्मेलनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । शनिबार सम्पन्न दोश्रो अधिवेशनबाट पनि अध्यक्षमा नरेश खड्का दोहोरिएका छन् ।
नरेश खड्काको अध्यक्षतामा ५५ सदस्यीय नयाँ चाँगुनारायण नगर समिति निर्वाचित भएको निर्वाचन समितिका संयोजक एवं संविधान सभा सदस्य सत्यलाल मूलले जानकारी गराए ।
निर्वाचन समितिका संयोजक मूलले दिएको जानकारी अनुसार उपाध्यक्षमा राजेन्द्र तिमल्सिना र हरेराम खडका निर्वाचित भएका छन्। त्यसैगरी सचिवमा चण्डीका लामिछाने, सहसचिवमा लक्ष्मण दुलाल र कोषाध्यक्षमा शान्ति केसी निर्वाचित भएका उनले बताए ।

पदाधिकारीमा अध्यक्ष संगै सचिव चण्डीका लामिछाने पनि दोहोरिएकी छन् । अन्य पदाधिकारी भने अघिल्लो कार्यसमितिबाट पदोन्नति हुँदै पदाधिकारीमा निर्वाचित हुन सफल भएका हुन् ।
सिङ्गो नगर समिति नै निर्विरोध निर्वाचित भएको प्रदेश सांसद समेत रहेका नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं चाँगुनारायण नगर इन्चार्ज देवेन्द्र श्रेष्ठ दिवाकरले जानकारी दिए ।
सम्मेलनमा पदको विषयलाई लिएर कसैले पनि असन्तुष्टि जाहेर नगरेको इन्चार्ज श्रेष्ठले दावी गरे ।
सम्मेलनले पार्टी प्रवेश गरेका पूर्वजनप्रतिनिधि वडा नम्बर ५ का पूर्व वडासदस्य रोशन खत्री र स्वतन्त्र रही भर्खरै माओवादी केन्द्रमा प्रवेश गरेका अजय बयलकोटीलाई पनि पार्टीमा स्वागत गर्दै नगर समिति सदस्य निर्वाचित गरेको उनले जानकारी गराए । सदस्यहरु अधिकांंश अघिल्लो कार्यसमितिबाट दोहोरिएका उनले उल्लेख गरेका छन् ।
सम्मेलनमा अनुपस्थित हुनेलाई समितिमा राख्न नपाउने केन्द्रीय नीतिबारे स्पष्ट पार्दै इन्चार्ज श्रेष्ठले अनुपस्थित रहेका अघिल्ला कार्यसमितिका नेताहरूलाई कार्यसमितिमा समेट्न नसकिएको बताए ।
“पद चाहिनेले सम्मेलनको सामना गर्नैपर्छ । सम्मेलन प्रतिनिधिको बिश्वास जित्नैपर्छ ।” उनले भने, ” नेताको वरिपरि घुमेर पद मात्र माग्नेको पार्टीमा अब गुन्जायस छैन, काम नगर्नेलाई हटाउने समेत समितिलाई अधिकार छ ।”
सम्मेलनको उद्घाटन माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला इन्चार्ज दिलिप प्रजापति भीष्मले गरेका थिए । सो अवसरमा जिल्ला इन्चार्ज प्रजापतिले सम्मेलनमा प्रतिस्पर्धा र अरुबेला एकता प्रदर्शन गर्नुपर्ने बताए ।
चाँगुनारायण नगर क्षेत्रमा केन्द्रीय सदस्य रहेका डिपी ढकालले गरेका काम र पहललाई नगर पार्टीले पुजीको रुपमा बिकास गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
इन्चार्ज प्रजापतिले परिवर्तन बिरोधी तत्वहरुबाट सचेत रहदै माओवादी केन्द्रका नेताकार्यकर्ताले परिवर्तनको पक्षमा जनमत निर्माण गरिराख्नुपर्ने आवश्यकता औल्याएका थिए ।
त्यसैगरि जिल्ला संयोजक सुनिल बासुले स्थानीय निर्वाचन जित्न तयारी गर्नसक्ने नगर नेतृत्व हुनुपर्नेमा जोड दिए । संयोजक बासुले नगरपालिकामा प्रतिपक्षी दलको भूमिका निभाउन समेत कार्यकर्तालाई निर्देशन दिए ।
सो अवसरमा पार्टीका केन्द्रीय सदस्यहरु डिपी ढकाल र प्रतिमा श्रेष्ठ त्यसैगरी शहिदका बुवा एवं पार्टी नेता रमेश अधिकारी, प्रदेश समिति सदस्य रामशरण दाहाल लगायतको आतिथ्यता रहेको थियो ।