दासढुंगा दुर्घटनाको ३२ बर्ष : आश्रित पुत्र भन्छन्,अझै न्याय पाएनौं

चितवन । नेकपा एमालेका तत्कालीन महासचिव मदन कुमार भण्डारी र संगठन बिभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा ज्यान गएको आज ३२ वर्ष भएको छ ।

जीपका चालक अमर लामा मात्र जीवित बचेका थिए।तर, उनलाई पनि गोली हानी मारिएपछि त्यो गुथ्थी सुल्झन सकेको छैन ।

एमाले पटकपटक सरकारको नेतृत्वमा पुग्यो । भण्डारीकै राजनीतिको जगमा उनकी पत्नी एवं एमाले नेतृ विद्यादेवी भण्डारी देशको रास्ट्रपति पनि बनिन् । तर, दुर्घटनाको रहस्य खोतल्न तर्फ न उनले पर्याप्त ध्यान पुर्याइन न त पार्टी नै लागिपरेको छ ।

शनिवार चितवनको दासढुंगामा आयोजित स्मृति सभामा आश्रितका छोरा डा सागर न्यौपानेले आजको दिन कालो दिन भएको बताए । षड्यन्त्रपूर्वक देशीविदेशी शक्तिहरुले नेताद्वयको हत्या गरेको तर, त्यो षड्यन्त्र पत्ता लगाउन नसकेको प्रति उनले दु:ख ब्यक्त गरे । यसले परिवारको मन रोएको र न्याय पाउन नसकेको उनको भनाइ छ ।

स्मृति सभालाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले वर्षको एकदिन फूल चढाएर मात्र नहुने स्पष्ट पारे । उनले मदन-आश्रितले न्याय पाउन नसकेको स्वीकार गरे ।

सभामा एमाले संगठन बिभाग प्रमुख काशीनाथ अधिकारी, बागमती प्रदेश इन्चार्ज कैलास ढुङ्गेल, चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।