सुशासन चाहिने भए एमालेको बहुमत चाहिन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, ३ जेठ – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकासलाई तीव्रता दिन एमालेको बहुमतको सरकार आवश्यक रहेको बताएका छन्।

राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय शिक्षा विभागद्वारा च्यासलस्थित एमाले पार्टी कार्यालयमा आयोजित युवा उद्यमी सम्मान तथा पार्टी प्रवेश कार्यक्रममा उनले मुलुकलाई सुशासनको मार्गमा व्यवधानरहित रूपमा अघि बढाउन बहुमतको सरकार अपरिहार्य भएको बताए। उनले त्यसका लागि आग्रह गरे ।

ओलीले एमालेको नेतृत्व आवश्यक रहेको कुरा बुझ्नमा ढिलाइ भएको स्वीकार्दै साना स्वार्थ बोकेर भ्रम फैलाउनेहरूबाट सचेत रहन आग्रह गरे। उनले युवालाई भ्रममा नपरी आगामी निर्वाचनमा एमालेलाई बहुमत दिलाउन आह्वान गरे।

उनले भने, “युवालाई एमालेमा आउनुस् भनेर अध्यक्ष बनिहाल्न भन्न खोजिएको होइन। काम र अनुभवसाथ नेतृत्वमा पुग्न सकिन्छ। मेसी र एम्बापे पनि एकैदिन बनेका होइनन्, डाक्टर र इञ्जिनियर हुन पनि मेहनत र समय चाहिन्छ। यो वास्तविकता बुझ्न आवश्यक छ।”

कार्यक्रममा युवा चिकित्सक, इन्जिनियरसहित करिब १०० जना एमालेमा प्रवेश गरेका थिए। त्यस अवसरमा स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोच राख्ने युवा व्यवसायीलाई सम्मान गरिएको थियो।