मदनकृष्णको भाषणको प्रतिवादमा किन केपी र प्रचण्ड एकसाथ उत्रिए

प्रधानमन्त्री र मदनकृष्णको भ्रष्टाचारबारे रोचक छेडखानी, सबैभन्दा बढी भ्रष्टाचार राजनीतिमा हुने मदनकृष्ण दावी

काठमाडौँ, १६ माघ । चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ र प्रधानमन्त्री केपी अाेली एक कार्यक्रममा भ्रष्टाचारका बारेमा वाद प्रतिवादमा उत्रेका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि जग्गा प्राप्ति सम्बन्धी सम्झौता कार्यक्रममा हास्य जगतका सुपरस्टार मदनकृष्ण श्रेष्ठ र वर्तमान राजनीतिका सुपरस्टार यस्ताे छेडखानीमा उत्रिएका हुन् ।

याे छेडखानी धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्न लागेकाे अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाकाे जग्गा सम्झाैता कार्यक्रममा गरिएकाे हाे । फाउन्डेसनले आयाेजना गरेकाे कार्यक्रममा दुबै जनाले आआफ्नाे भाषण गर्ने समयकाे सदुपयाेग गर्दै छेडखानी गरेका हुन् । सुरुमा भाषण गर्ने पालाे थियाे हास्यकलाकार मनकृष्ण श्रेष्ठकाे । भाषणमा कलाकार श्रेष्ठले जता हेर्दा पनि भ्रष्टाचारको पहाडै देख्न थालेकाे बताए। उनले भने, ”जताततै भ्रष्टाचारै भ्रष्टाचार देख्छु । कतै पनि विकासको काम भएको देखिँदैन ।”

सबैभन्दा बढी भ्रष्टाचार राजनीतिमा : मदनकृष्ण

भाषणमा उनी भ्रष्टाचारका बारेमा बाेल्दै जाँदा निकै ताली पनि खाए । भाषणमा उनले भने, ‘सरसरती हेर्दा सबैभन्दा बढी भ्रष्टाचार त राजनीतिमा हुँदोरैछ । अनि प्रशासनिक निकायमा हुँदोरहेछ । यतिमात्र होइन जताततै भ्रष्टाचार छ । स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार छ । शिक्षा क्षेत्रमा भ्रष्टाचार छ । हुँदाहुँदा कलाक्षेत्रमा पनि भ्रष्टचार देखिन थालेको छ । हत्तेरी सुन्दानी घिन लाग्छ । भ्रष्टाचार गर्नेलाई कारबाही पनि भएको छैन । भए पनि १० ,१२ हजारको भ्रष्टाचार गर्नेलाई कारबाही हुन्छ ।’

यसो भन्दै गर्दा उनले सोही प्रसङ्ग धुर्मुस सुन्तलीसँग जोडे । धुर्मुस सुन्तलीले धेरै मानिसको विश्वास जितेर अग्लो उचाई बनाइसकेको उल्लेख गर्दै काम गर्दा एक–एक पैसाको सही हिसाब किताब राख्न पनि सुझाव दिए । मदनकृष्णले यति भन्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रम स्थल प्रवेश गर्दै थिए । प्रधानमन्त्री अाेली कार्यक्रमस्थल प्रवेश गर्दा मन्चमा मानिसहरु उठन थाले र उनकाे स्वागत गर्न थाले । मदनकृष्ण पनि त्याे अवस्थामा भाषण जारी राख्न सकेनन र उनी पनि प्रधानमन्त्रीलाइ नमस्कार गर्दै स्वागत गर्न थाले ।

कार्यक्रममा प्रधानमन्त्री पुगेलगत्तै राष्ट्रिय गान सुरु भयो । राष्ट्रिय गान सकिएपछि मात्र मदनकृष्णकाे भाषण फेरि जारी भयाे । श्रेष्ठले नेपालीहरु घर बाहिर पनि ‘हाम्रो छ, हामीले बनाउनुपर्छ, जोगाउनुपर्छ’ भन्ने भावना विकास गर्न नसकेकाले पनि उन्नती हुन नसकेको उनले बताए ।

भ्रष्टाचारकाे आराेप लाग्ने राजनीतिमा बरु मदनकृष्णजस्तै कलाकारितातिर लाग्नुपर्ने रैछ: प्रचण्ड

श्रेष्ठले सबैभन्दा भ्रष्टाचार राजनीतिमा हुने बताएपछि त्यो भनाईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यान तान्यो । त्यसलगत्तै प्रचण्डले मदनकृष्णहरुले खबरदारी गर्नुपर्ने प्रतिउत्तर दिए । उनले राजनीतिलाई सफा गर्ने जिम्मेवारी राजनीतिज्ञकै भएको समेत बताए । साथै प्रचण्डले अरुले भनेपछि नराम्रो लाग्ने गरेको भए पनि मदनकृष्णको कुरा मिठो लागेको भन्दै उल्टै प्रसंशा गर्न भ्याए । प्रचण्डले ठट्टा गर्दै भने, ‘यो राजनीतिमा लाग्नुभन्दा बरु हामी कलाकारितातिर लाग्नु पर्नेरहेछ ।’ तर उनले थप भने, ‘राजनीतिलाई सफा गर्ने जिम्मेवारी राजनीतिज्ञकै हो । तपाई हेर्नुहोला, १० वर्षभित्र राजनीति सफा हुन्छ ।’

मदनजी ढुक्क हुनुस म भ्रष्टकाे अनुहार पनि हेर्दिन : प्रम ओली

साथै मदनकृष्णको कुराले प्रधानमन्त्री ओलीको समेत ध्यान तान्यो । प्रधानमन्त्री ओलीले पनि मदनकृषणको भाषणलाई खण्डन गर्दै भने, ‘मभन्दा अगाडि मदनकृष्ण (श्रेष्ठ) जीले भाषण गर्दा खुब ताली लाग्यो भनेको सुनेँ । पक्कै पनि भ्रष्टाचारविरुद्ध बोल्नुभयो होला । बोल्नैपर्छ । हामी दुवैजना भ्रष्टाचारविरुद्ध छौं । म सरकारको तर्फबाट भ्रष्टाचारविरुद्ध बोल्ने मात्र होइन, भ्रष्टाचारलाई ठेगान लाउने समेत काम गर्छु । भ्रष्टाचार हुन दिँइदैन । भ्रष्टाचारीमाथि धमाधाम कारबाही भइरहेको छ ।’

उनले थपे ‘यसरी कारबाही हुँदा भ्रष्टाचार भएछ भने हुन्छ । तर, हामी भेटायो कि समातेर ठेगान लगाउँछौं । अझै कारवाहीको सिलसिला चल्छ । भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने हो । मैले भनेको छु, म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार सहन्न् । भ्रष्टको अनुहार हेर्दिनँ । कस्तो अनुहार छ, मतलब छैन, कुन पार्टीको हो थाहा छैन ।

मदनकृष्णजी ढुक्क हुनुस् । मदनकृष्णजीको भाषणमाथि थप्छु । उहाँले स्वच्छ हुन आग्रह गर्नुभो । एकदम राम्रो कुरा हो । तर स्वच्छ मात्र भएर पुग्दैन । एउटा मूर्ति स्वच्छ भएर बस्छ । भ्रष्टाचार गर्दैन । के त्यतिले पुग्यो त ? स्वच्छ मात्र होइन, सक्रिय पनि हुनुपर्यो ।’ प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री दाहालले यसो भनिरहँदा बरिष्ठ कलाकार श्रेष्ठ मुसुमसु हाँसिरहेका थिए ।

धुर्मुस सुन्तलीले ३ अर्ब लागतमा चितवनमा कमलकाे फूल जस्तै देखिने अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने

धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ । उक्त रंगशालाका लागि भरतपुर महानगरपालिकाले जग्गा प्रदान गरेकाे छ । फाउन्डेसनलाइ भरतपुर महानगरले एक विशेष कार्यक्रमकाे अायाेजना गरी जग्गा हस्तान्तरण गरेकाे हाे । 

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर– १६ को यो जग्गा कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको थियो । क्रिकेट रंगशाला बनाउने भएपछि भरपुर महानगर हुँदै फाउन्डेसनलाई उपलब्ध गराएको हो । २० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुनेछ । गुरुयोजना तयार भएको २ वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनका प्रमुख सीताराम कट्टेल धुर्मुसले बताएका छन् ।

रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको छ । देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउन्डेसनका अध्यक्ष धुर्मुसले बताएका छन् । उनले यसअघि चारवटा वस्ती निर्माण गर्दाको अनुभव रंगशालामा खन्याउने उल्लेख गरे । धुर्मुसले जनसहयोगबाटै भूकम्पपीडित, बाढी पिडित र मुसहरहरुका लागि नमूना वस्ती बनाएका थिए ।

यस्ताे छ कमलकाे फूल जस्तै देखिने अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने

Loading...