भरतपुर । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा चितवन ३ बाट वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे बलियो दावेदार देखिएका छन् ।
नेपाल बार एसोसिएशनका पूर्व अध्यक्ष एवं नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक भइसकेका घिमिरे जिल्लाको राजनीतिमा निर्विवादित पात्र मानिन्छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता गर्ने भएपछि अहिले उनी आवद्ध दल नेपाली कांग्रेस उम्मेदवार चयनका लागि अन्तिम गृहकार्यमा रहेको छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापासहित सिंगो पार्टीले घिमिरेलाई विश्वास गर्ने चितवन कांग्रेस नेताहरुको बुझाइ छ ।
नेपाल विद्यार्थी संघको राजनीति देखि सामाजिक जीवनमा निर्विवाद व्यक्तित्व बनाएका घिमिरेले चितवन ३ मा अन्य पार्टीका उम्मेदवारलामाथि भारी पर्ने विश्वास व्यक्त गरिएको छ ।
घिमिरेले आफूले टिकट पाएमा चितवनमा नेपाली कांग्रेसको साख फर्काउन लागि पर्ने बताए । ‘म लामो समयदेखि राजनीतिमै छु, पार्टीले दिएको जिम्मेवारी पनि कुशलतापूर्वक निर्वाह गरेकाले यस पटक मेरो कामको मूल्यांकन हुने विश्वास गरेको छु ।’ उनले भने ।
नेपाली कांग्रेसमा सुशील कोइरालाको पदचापमा हिँड्ने घिमिरेले जिल्लाका अन्य नेताहरुसँग पनि उत्तिकै सामिप्यता कायम गर्दै आएका छन् ।
चितवन-३ नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाले विजय प्राप्त गरेको क्षेत्र पनि हो ।
सो क्षेत्रमा नेपाली कांग्रेसका कार्यकर्ताले रुख चिन्हमा मतदान गर्न नपाएको लामो समय भएकाले पनि नेपाली कांग्रेसको जनाधार कायम राख्दै जीत हासिल गर्न घिमिरेको उम्मेदवारी आवश्यक रहेको क्षेत्रीय कार्यसमितिका एक सदस्यले बताए ।







