यस्ता छन् भक्तपुर-१ मा लवजुले मत पाउने पाँच आधार

Hariram lawaju
Hariram lawaju

भक्तपुर । प्रतिनिधिसभा निर्वाचन–२०८२ अन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट वरिष्ठ अधिवक्ता  हरिराम लवजु उम्मेदवार रहेका छन् । आफ्नो लामो संघर्षपूर्ण जीवन, व्यावसायिक क्षमता र स्पष्ट विकास दृष्टिकोणका आधारमा तारा चुनाव चिह्नमा मत माग्दै उनले चुनावी अभियान पनि तीव्र पारेका छन्।

लवजुले १७ वर्षकै कलिलो उमेरमा जनअधिकार र निरंकुशताविरुद्धको आन्दोलनमा सहभागी हुँदा गोली लागेर गम्भीर घाइते भएको, चरम यातनासहित झण्डै दुई महिना जेल जीवन बिताएको स्मरण गराउँदै आफू वर्गीय मुक्ति आन्दोलनदेखि आजसम्म निरन्तर संघर्षशील रहेको बताएका छन्।

कानूनकर्मी तथा मानवअधिकारकर्मीका रूपमा नागरिक र राजनीतिक आन्दोलनहरूमा सदैव अग्रपङ्क्तिमा उभिँदै आएका लवजुले भाद्र २३ र २४ गते सम्पन्न ‘जेन–जी विद्रोह’ले उठाएका न्यायोचित मागमा सक्रिय समर्थन जनाउँदै आएको पनि स्पष्ट पारे ।

भ्रष्टाचार, निरङ्कुशता र अन्यायविरुद्ध सदैव जनताकै माझ बसेर आवाज बुलन्द गर्दै आएको उल्लेख गर्दै, आफू भक्तपुरको चिरपरिचित धर्तिपुत्र भएको लवजुले भनाइ छ ।

पाँच आधारमा मत माग
लवजुले पार्टी घोषणापत्रसँगै पाँच ठोस आधार प्रस्तुत गर्दै तारा चिन्हमा मत दिन आग्रह गरेका छन्।

पहिलो, योग्यता र सक्षमता। कानूनशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर, सार्कस्तरीय तालिम, १० वर्षभन्दा बढी अध्यापन र २६ वर्षभन्दा लामो कानून व्यवसायको अनुभव बोकेका लवजुले आफ्नो ज्ञान, इमानदारी र निष्ठा अब भक्तपुर र देशको विकासमा समर्पित गर्ने प्रतिबद्धता जनाएका छन्।

दोस्रो, संविधान रक्षा र कानून निर्माण। जनआन्दोलन र क्रान्तिमा बलिदान दिने शहीदप्रति सम्मान गर्दै जनभावनाअनुसार संविधान संशोधन, जनपक्षीय कानून निर्माण, मौलिक हकको कार्यान्वयन र सुशासनलाई व्यवहारमै उतार्ने उनको प्रतिज्ञा छ।

तेस्रो, विकास निर्माण। चाँगुनारायण र भक्तपुर नगरपालिकालाई समेट्ने यस क्षेत्रको विकास सन्तुलित र समन्वयात्मक बनाउने, “हातमा काम, खल्तीमा दाम र सिस्टममा काम” मोडेलमार्फत आर्थिक, सामाजिक र सांस्कृतिक उन्नयन गर्ने योजना उनले अघि सारेका छन्।

चौथो, जनतासँग प्रत्यक्ष जोडिने प्रतिनिधि। जनताले खोजेका बेला जहाँसुकै देखिने, सुनिने र समाधान केन्द्रित हुने जनप्रतिनिधि बन्ने दाबी गर्दै भक्तपुरलाई देशको केन्द्रसँग जोड्ने र उपेक्षित अवस्थाबाट निर्णायक केन्द्रमा पुर्‍याउने भूमिका खेल्ने बताएका छन्।

पाँचौँ, जनताको सम्पत्तिमाथि भइरहेको दोहनको अन्त्य। जनताको भूमि, कमाइ र बचतमाथि भइरहेको गैरकानूनी दोहन तत्काल रोक्ने, जनताको सम्पत्ति ‘सित्तैमा लिने’ प्रवृत्तिविरुद्ध कडा पहल गर्ने र न्यायोचित समाधान निकाल्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

लवजुले अन्यायविरुद्धको संघर्ष, स्पष्ट विचार र परिणाममुखी कार्यशैलीकै आधारमा भक्तपुरबासीले आफूलाई प्रतिनिधिसभामा पठाउने विश्वास व्यक्त गरेका छन्।