भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि भक्तपुरका दुबै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको छ ।
भक्तपुर क्षेत्र नम्बर १ मा हरिराम लवजु र क्षेत्र नम्बर २ मा रामप्रसाद सापकोटा दीपशिखालाई प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार मनोनयन गरिएको सो पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले बताएका छन् ।
सोमबार पार्टी कार्यालय पेरिस डाँडामा सह संयोजक माधवकुमार नेपालले दुबै उम्मेदवारलाई मनोनयन पत्र समेत प्रदान गरेका आचार्यले जानकारी गराए ।
भक्तपुरको क्षेत्र नम्बर १ मा उम्मेदवारी पाएका भक्तपुर-९ निवासी लवजु अधिवक्ता हुन् । नेपाल मानव अधिकार संगठनका पूर्व जिल्ला अध्यक्ष समेत रहेका उनी बौद्धिक नेता मानिन्छन् ।
क्षेत्र नम्बर २ मा उम्मेदवारी पाएका मध्यपुर थिमी-३ निवासी रामप्रसाद सापकोटा दीपशिखा जनयुद्धकालीन नेता एवं युवाहरूबीच लोकप्रिय छन् । पार्टीको केन्द्रीय नेता समेत रहेका उनीसंग २०६४ सालमा सो क्षेत्रको निर्वाचन परिचालन गरेको अनुभव छ ।
क्षेत्र नम्बर-२ मा अघिल्लो पटक बाम-लोकतान्त्रिक गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापालाई जिताएको र त्यस अघि बाम गठबन्धन अन्तर्गत नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेतलाई जिताएका सो पार्टीका मतदाताले यस पटक भने सापकोटालाई सशक्त उम्मेदवारको रुपमा पाएका नेता दिलिप प्रजापतिले दावी गरे ।






