पाकिस्तानमा तालिम लिएका नेपाली सेनाका अधिकृतहरूको काठमाडौमा भेला

काठमाडौं । नेपालका लागि पाकिस्तानी दूताबासले काठमाडौंमा पाकिस्तानमा तालिम लिएका नेपाली सेनाका अधिकृतहरूको लागि एलुम्नाइ भेला सम्पन्न गरेको छ। 

कार्यक्रमको प्रमुख अतिथि पूर्व प्रधानसेनापति जनरल गौरव शमशेर राणा रहेका थिए भने विशेष अतिथिका रूपमा पूर्व प्रधानसेनापति जनरल राजेन्द्र क्षेत्री उपस्थित थिए। कार्यक्रममा पाकिस्तानको नेशनल डिफेन्स युनिभर्सिटी (NDU) बाट आएको प्रतिनिधिमण्डलको समेत उपस्थिति रहेको थियो।

पाकिस्तान दूतावासका रक्षा सहचारी कर्णेल मुहम्मद अली अल्वीले स्वागत मन्तव्य राख्दै नेपाल र पाकिस्तानका सशस्त्र बलहरूबीचको ऐतिहासिक सम्बन्ध र तालिमको क्षेत्रमा रहेको सहकार्यबारे चर्चा गरे। उनले नेपाली सेनाको क्षमता विकासका लागि पाकिस्तान सशस्त्र बलले दिँदै आएको निरन्तर सहयोगलाई विशेष रूपमा उल्लेख गरे।

प्रमुख अतिथि जनरल गौरव शमशेर राणाले पाकिस्तानी संस्थाबाट पाएका तालिम र अनुभवले नेपाली सेनाका अधिकृत र सैनिकहरूलाई संस्थागत र व्यक्तिगत रूपमा ठूलो लाभ पुर्‍याएको बताए ।

कार्यक्रमको समापन मन्तव्य राख्दै पाकिस्तानका राजदूत अबरार एच. हाश्मीले नेपाल–पाकिस्तान सम्बन्ध विश्वास र पारस्परिक लाभमा आधारित रहेको बताए।

उनले दुवै देशबीचको सैन्य सहकार्य अझ मजबुत हुँदै जाने विश्वास व्यक्त गरे।

साथै, राजदूत हाश्मीले भारतको अकारण आक्रमणलाई संयुक्त राष्ट्रसंघको चार्टर र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भन्दै कडा निन्दा गरे। उनले पाकिस्तानले धारा ५१ अन्तर्गत आफ्नो सार्वभौमसत्ता जोगाउन सबै उपायहरू अपनाउने अधिकार सुरक्षित राखेको स्पष्ट पारे।

कार्यक्रममा सहभागी एलुम्नाइहरूले पाकिस्तानमा बिताएका मीठा सम्झनाहरू बाँड्दै यस्तो भेला आयोजना गरेकोमा दूतावासप्रति आभार व्यक्त गरे।