प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिले सीमा क्षेत्रमा एसएसबीको हेपाहा प्रवृत्ति बढ्योः नेकपा

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियता, सीमा सुरक्षा र जनजीविकाका सवालमा सरकार र प्रधानमन्त्री बालेन्द्र शाहको आलोचना गरेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै नेकपा सांसद बलावती शर्माले प्रधानमन्त्री सामाजिक सञ्जालमा मात्र सीमित भएको र देशका जल्दाबल्दा समस्या समाधानमा उदासीन रहेको आरोप लगाइन् ।

सांसद शर्माले प्रधानमन्त्रीले केही समयअघि संसदको रोस्टममा उभिएर ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भनी दिएको अभिव्यक्तिप्रति पुनः आपत्ति जनाइन् । ‘प्रधानमन्त्रीको सो गैरजिम्मेवार अभिव्यक्तिको जवाफ नआएसम्म र उक्त भनाइ संसदको रेकर्डबाट नहटाइएसम्म हाम्रो विरोध जारी रहनेछ। राष्ट्रियता जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले हलुका टिप्पणी गर्नु विडम्बना हो,’ शर्माले भनिन् ।

नवलपरासीको सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाली भूमिमा प्रवेश गरी नेपालीहरूले बनाएको माटोको अस्थायी बाँध भत्काएको घटनाप्रति उहाँले सरकारको ध्यानाकर्षण गराइन् ।

प्रधानमन्त्रीको कार्यशैली लाचार भएको र उनका विवादास्पद अभिव्यक्तिले सीमा क्षेत्रमा एसएसबीको हेपाहा प्रवृत्ति बढेको उनको तर्क थियो। उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रमा भइरहेको अतिक्रमणबारे पनि प्रश्न उठाइन् ।

सुनसरीको देवानगन्जमा भएको घटना र त्यसपछि मधेसभरि फैलिएको साम्प्रदायिक भड्कावलाई नियन्त्रण गर्न सरकार ढिलो गरी तातेको उनले बताइन् ।

घटनामा ज्यान गुमाउनेहरूका लागि उचित क्षतिपूर्तिको माग गर्दै उहाँले सत्यतथ्य छानबिनका लागि एक विश्वसनीय आयोग गठन गर्न माग गरिन् ।