४ जनाको मृत्युको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ : एमाले

काठमाडौं । प्रतिपक्षी दल नेकपा (एमाले)ले सुनसरी र विराटनगरमा भएका पछिल्ला घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताएको छ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले सरकारको कमजोरीका कारण नागरिकले ज्यान गुमाउनुपरेको बताएका हुन्।

सांसद बरालले सुनसरीमा भएको साम्प्रदायिक तनाव र त्यसपछि उत्पन्न परिस्थितिका कारण चार जना युवाको मृत्यु भएको उल्लेख गर्दै यसको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताए।

‘यदि समयमै सामान्य हातहतियार प्रदर्शनलाई नियन्त्रण गरी शान्ति–सुरक्षा कायम गर्न सकेको भए आज यो दुर्भाग्यपूर्ण अवस्था आउने थिएन। त्यसैले यी चार जना मृतकको मृत्युको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ,’ बरालले भने।

सरकारले गरिरहेको हालको छानबिन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उनले निष्पक्ष र अधिकारसम्पन्न आयोग गठन गर्न माग गरे।

‘छानबिन न्यायिक हुनुपर्छ। तजबिजी ढङ्गबाट बनाइएको छानबिन समितिले न्याय दिन सक्दैन। त्यसैले पूर्वन्यायाधीशको नेतृत्वमा आयोग गठन गरी यस घटनाको यथोचित कारण पत्ता लगाउन र स्थायी समाधान खोज्न म सरकारसँग माग गर्दछु,’ बरालले भने।

विराटनगरमा प्रतिष्ठित औद्योगिक घराना देवेनरा ग्रुपमाथि गरिएको छापाको शैलीप्रति पनि उनले आपत्ति जनाए।

सांसद बरालले देशमा महँगी बढेको, ग्यासका लागि नागरिकले लामो समय लाइनमा बस्नुपरेको र सरकारले आधारभूत आवश्यकता पूरा गर्न नसकेको भन्दै सरकारको आलोचना गरे।