रेडक्रसको अनियमितताबारे भदौ ३ गतेसम्म उजुरी दिन सकिने

Dipesh Ghimire PHD
Dipesh Ghimire PHD

संजीप घिमिरे, काठमाडौ । नेपाल रेड्क्रस सोसाइटीले संस्थामा अनियमितताबारे उजुरी गर्ने समय अवधि थप गरेको छ । उजुरी तथा गुनासोको अध्ययन एवं छानबिन समितिले मंगलबार पत्रकार भेटघाट मार्फत २० दिन समय थप गरिएको जनाएको हो ।

छानबिन समितिका संयोजक डा दिपेश घिमिरेले उजुरी दिने ३५ दिने समय अपुग भएकोले थप २० दिन थपेर भदौ ३ गते बुधबारसम्म समय सीमा बढाइएको बताए ।

नेपाल रेड्क्रस सोसाइटीका उपशाखा देखि संघीय कार्यालयसम्म कार्यरत ब्यक्ति अथवा समूहबारे उजुरी दिन सकिने उनले जानकारी गराएका छन् । “आर्थिक, नैतिक र भौतिक अनियमितता तथा पद, सम्पत्ति र अधिकारको दुरुपयोग रोक्न उजुरी महत्त्वपूर्ण हुनेछ ।” डा घिमिरेले भने, “रेडक्रस जस्तो मानवीय संस्थालाई सुशासनयुक्त बनाउन यहाँहरु सबैको सूचना र उजुरी आवश्यक छ ।”

पत्रकारका प्रश्नको जवाफ दिदै संयोजक डा घिमिरेले यस अघिको छानबिन समिति जस्तो यो समिति कर्मकाण्डी समिति नहुने दावी गर्दै उजुरीमा आवश्यक परे राज्यका अनुसन्धानकारी निकास सिआइबी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतको समेत सहयोग लिनसक्ने बताए । डा घिमिरे भ्रष्टाचार र सुशासनसम्बन्धि विषय बिज्ञ एवं त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक हुन् । उनले नेपाल रेडक्रस सोसाइटीको बिश्वसनीयता, मानवीयता र पवित्रतालाई उच्च बनाउन आफ्नो समितिले ऐतिहासिक जिम्मेवारी पूरा गर्ने जिकिर गरे ।

सो अवसरमा छानबिन समितिका सदस्यद्वय अधिवक्ता यशस्वी थापा र सीए सतिस सुवेदीको समेत उपस्थिति रहेको थियो । उनीहरूले समितिलाई हालसम्म सवारीसाधनको दुरुपयोग, रेडक्रसद्वारा सञ्चालित आखा अस्पताल लगायतमा भएको अनियमितता, घर भाडा र कर्मचारी भर्ना लगायतमा उजुरी प्राप्त भएको बताए ।

सर्वसाधारण सबैका लागि गुनासो र उजुरी खुला गरेको छानबिन समितिले पोस्ट बक्स नम्बर २१७, इमेल [email protected] र व्ह्वाट्स एप नम्बर ९७४१६९५०९७ मा गुनासो पठाउन सकिने बताएको छ । साथै, कालीमाटीस्थित केन्द्रीय कार्यालयमा अथवा, निशुल्क हटलाइन नम्बर ११३० मा सिधै गुनासो तथा उजुरी टिपाउन सकिने ब्यवस्था मिलाइएको छ ।
प्राप्त उजुरीहरुको गोपनियता कायम राखिने समेत समितिले प्रतिवद्धता प्रकट गरेको छ ।

विशेष गरी २०७२ को महाभुकम्पपछि र कोभिड १९ लगायतका बिपत्तिमा रेड्क्रस मार्फत अर्बौं रकम परिचालन भएसंगै यो पवित्र मानवीय स्वयंसेवी संस्था भ्रष्टाचारको आरोप प्रत्यारोपमा फसेको छ । करिब १ हजार ७ सय उपशाखा र सबै जिल्ला र प्रदेशमा कार्यालय रहेको रेड्क्रसमा करिब १२ लाख स्वयंसेवक रहेका छन् ।

यसको छविलाई पवित्र बनाइराख्न छानबिन समितिलाई महत्त्वपूर्ण जिम्मेवारी दिइएको देखिन्छ । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समितिको असार ५ गते बसेको बैठकले छानबिन समिति बनाउने निर्णय गरेको थियो ।