बिहेगरी क्यानाडा लैजाने भन्दै ठगी गरेको आरोपमा बैतेश्वर घर भई गठ्ठाघर बस्ने युवती पक्राउ

भक्तपुर । डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै २० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक युवती प्रहरीको फन्दामा परेकी छिन्।

दोलखाको वैतेश्वर गाउँपालिका–८ घर भई भक्तपुरको मध्यपुर थिमि-३ गठ्ठाघर बस्ने सुजिता अधिकारीलाई बुधवार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पुष्टि गरेको छ ।।

अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार सुजिताले आफूसंग क्यानडाको भिसा भएको र कोर्ट म्यारिज गरेर डिपेन्डेन्टमा क्यानडा लैजान सक्ने भन्दै एक युवकसँग २० लाख रुपैयाँ लिएकी थिइन्। पैसा हात परेपछि उनी सम्पर्कविहीन भइन्, जसले गर्दा ती युवक उजुरी बोकेर प्रहरी कार्यालय पुगेका थिए ।

पक्राउ परेकी सुजितामाथि अब आपराधिक लाभसम्बन्धी मुद्दा दायर हुँदैछ र थप अनुसन्धानका लागि उनलाई काठमाडौं प्रहरी परिसर पठाइएको एसपी आचार्यले बताए ।

एसपी काजीकुमार आचार्यका अनुसार, यस्तो खालको ठगीमा परेर धोका खाने मानिसहरू दिनदिनै बढ्दै गएका छन्, उनले सबैलाई सचेत रहन आग्रह समेत गरेका छन् ।