दोलखा । शैलुङ्ग गाउँपालिकामा अपराह्न करिब ४:२० बजे भएको गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।
काठमाडौं मच्छेगाउँबाट शैलुङ्ग घुम्न आएका पर्यटक फर्कने क्रममा गाउँपालिका–६, शैलुङ्ग फेदी कालापानी क्षेत्रमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी ज्ञान कुमार महतोले जानकारी दिए।
दोलखा, गौरीशंकर गाउँपालिका–१, जुंगुका ४५ वर्षीय गोकुल कार्कीले चलाउँदै आएको बागमती प्रदेश ०१–००२ ज ६२०८ नम्बरको ईभी माइक्रोबस अचानक ब्रेक फेल भएपछि सडकबाट झन्डै १० मिटर टाढा रहेको गौतम बुद्धको शालिकमा ठोक्किँदा दुर्घटना भएको महतोले बताए।
दुर्घटनामा एक बच्चासहित १८ जना घाइते परेका छन्। तीमध्ये १० महिला र ८ पुरुष रहेका छन्। शैलुङ्ग अस्पतालमा उपचार भइरहेका घाइतेमध्ये गोरखा घर भई हाल काठमाडौं नार्गाजुन–१ बस्ने ६० वर्षीया यकुमाया अर्यालको मृत्यु भएको छ। अन्य घाइतेहरुलाई काभ्रे स्थित धुलिखेल अस्पतालमा पठाइएको छ। तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ।



