भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य सन्तोष परियारले पद तथा पार्टी दुवैबाट राजीनामा दिएका छन्। उनले पार्टी महामन्त्रीलाई सम्बोधन गर्दै शुक्रवार पत्रमार्फत् औपचारिक राजीनामा बुझाएका हुन्।
परियारले आफूले पार्टीमा रहँदा देश र समाजका लागि सकेसम्म योगदान दिन प्रयास गरे पनि पछिल्ला घटनाक्रमले पार्टीको मूल विचार, संगठनात्मक प्रणाली र राजनीतिक यात्रासँग आफू सहमत रहन नसकेको उल्लेख गरेका छन्।
नेपाली समाजमा सकारात्मक परिवर्तनका लागि कटिबद्ध रहँदै पार्टीको वैकल्पिक राजनीतिक अभियानमा सहभागी भएको तर पार्टीभित्रको निर्णय प्रक्रिया, राजनीतिक दिशा र अन्तर्निहित धारणा आफूले अपेक्षा गरेको जस्तो नदेखिएको कारण राजीनामा दिन बाध्य भएको उनले बताएका छन् ।
परियारले जेन-जी आन्दोलनपछि बिकसित घटनाक्रममा रास्वपाले गति लिन नसक्ने निष्कर्ष सहित राजिनामा दिएका उनी निकट श्रोतले जनाएको छ ।
परियार रास्वपाबाट बिघटित प्रतिनिधि सभाका समानुपातिक तर्फबाट सदस्य तथा रास्वपा संसदीय दलका प्रमुख सचेतक समेत रहेका थिए । पार्टीले पत्याएका परियारले एक छट्कामै पार्टी परित्याग भने गरेका होइनन् ।
उनी जनार्दन शर्मा प्रभाकर नेतृत्वको अभियानमा सामेल हुने संभावना रहेको उनी निकट श्रोतले ननस्टप खबरलाई जानकारी दिएको छ । भक्तपुर क्षेत्र नम्बर २ मा प्रत्यक्ष निर्वाचन लड्ने महत्वाकांक्षा बोकेका परियार प्रचण्ड नेतृत्वको नेकपाप्रती पनि आकर्षित रहेका रास्वपा भक्तपुरका एक नेताले जनाएका छन् ।उनी बामपंथी बिचार बोकेका नेता हुन् ।
नेता परियारले पनि राजनीतिक यात्रा कायम राख्ने प्रष्ट पारेसंगै रास्वपा परित्याग गर्नुको उनको उदेश्य अर्को पार्टीमा आवद्ध हुनुसंग जोडिएको संकेत गरेका छन् ।
रास्वपाभित्र पछिल्ला दिनमा देखिएको असन्तुष्टि, विचारभेद र संगठनात्मक समस्याबीच आएको परियारको राजीनामाले पार्टीको आन्तरिक राजनीतिमा प्रभाव पार्ने देखिन्छ ।







