प्रचण्डको कार्यशैलीप्रति जनार्दन शर्माको आपत्ति

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यशैली प्रति असन्तोष ब्यक्त गरेका छन् । विधान अधिवेशनमा फरक मत राख्ने नेताहरूलाई नयाँ कार्यविभाजन गर्दा अन्याय गरिएको भन्दै उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले फरक मत प्रस्तुत गरेका हुन् ।

उपमहासचिव प्रभाकरले बुधबार सम्पन्न भएको स्थायी कमिटी बैठकमा पार्टी प्रदेश इन्चार्ज/सहइन्चार्ज लगायतका पद फेरबदल गर्दा बिधान अधिवेशनमा फरक मत राख्ने नेताहरूलाई निशाना बनाएको बताएका छन ।

नेता प्रभाकरले विधान अधिवेशन लगत्तै बसेको स्थायी समिति बैठकमा विधानबारे एजेन्डा नै नराखेर खुरुखुरु प्रदेश इन्चार्ज तथा सहइन्चार्जको जिम्मेवारी आफू खुशी फेरबदल गरिएको बिषयमा चित्त न बुझेको बताएका छन । उनले विधान अधिवेशनले पारित गरेको निर्णयहरूको भाषिक रूपले सम्पादन गरी तुरून्त कार्यान्वयन गर्नु पर्ने माग गरेका छन ।

“गृहकार्यको नाममा पटक–पटक बैठक सरेको र आज मिति २०८० फागुन १५ गते प्रस्तावित भई असहमतिबीच पारित गरिएका निर्णयहरूप्रति गम्भीर असहमतिका साथ आफ्नो मत राख्दछु,” उनले उल्लेख गरेका छन ।

हिजो मंगलबार जारी रहेको स्थायी कमिटी बैठकले इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको थियो । यसअघि बागमतीका इन्चार्ज जनार्दन शर्मा, उपत्यकाका इन्चार्ज वर्षमान पुन, गण्डकीका इन्चार्ज देवेन्द्र पौडेल लगायत थिए । उनले विधि बिधान अन्तर्गत पार्टी संचालन हुनु पर्ने माग राख्दै आएका छन ।

‘मैले जिम्मेवारी नपाउने कुरालाई सामान्य रूपमा लिएको छु। तर यसभित्रको अन्तर्निहित उद्देश्य, विधान सम्मेलनमा मैले प्रस्तुत गरेका एजेन्डाहरू, छलफल र हलले पदाधिकारी समेत अधिवेशनबाट चुनिनुपर्ने मागलाई बेवास्ता गर्दै पदाधिकारी र पार्टी नामबारे पछि गरौंला भन्दै टारिएको अवस्था जगजाहेर छ,” उनले फरकमतमा जिकिर गरेका छन ।
उनले प्रदेशहरूमा कार्य विभाजन गर्दा स्थायी समितिका सदस्यलाई समेत बेवास्ता गरी विधिविपरीत आफ्नो अनुकूलतामा गरिएको निर्णयप्रति असहमति रहेको फरक मतमा लेखेका छन ।

विधान अधिवेशन अघि पार्टी उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा प्रस्ताव कार्यदल बनाइएको थियो । यहि माघ २७,२८ र २९ गते प्रज्ञा भवनमा पार्टीको केन्द्रिय समिति बैठक बसेको थियो ।
फागुन १४ गते देखि बिचबिचमा स्थगित हुँदै बस्दै आएको स्थायी कमिटी बैठक बुधबार सम्पन्न भएको छ ।

Loading...