भक्ती रिजाल, सर्लाही । हरिपुर नगरपालिका वडा नम्बर १ जानकीनगर थातथलो भएका भुवन भट्टराईको दुध डेरीको पसल हरिवन बजारमा छ । झट्ट हेर्दा र सुन्दा भुवनको दैनिकीमा दु:ख देखिन्छ तर त्यो दु:ख लोभलाग्दो छ । हरेक दिन बिहान चार बजे उठेपछि भुवनको कर्म सुरु हुन्छ र त्यो संगै शुरु हुन्छ उनका सपना र बिपनाबीचको तादम्यता ।
बिहान हरिवनबाट दक्षिण जानकीनगर बड्किएका भुवनलाई झन्डै २ सय लिटर दूध संकलन गरेर हरिवनमा रहेको डेरीमा फर्किन ५ घन्टा लाग्छ ।
गाउँघरमा पुगेर दुध संकलन गर्दागर्दै समय बित्छ, चिया/नास्ता त परको कुरा भयो कहिलेकाँही त एक घुड्की पानी पनि मुखमा पर्दैन ।
भुवनको पुर्ख्यौली घर हरिपुर नगरपालिका-१ जानकीनगर पुगेर दुध संकलन गरि पुनः हरिवन फर्किदा एक बिहानमा ४० किलोमिटरको यात्रा तय हुन्छ । भुवन भन्छन् ,’चालिस किलोमिटर यात्रालाई जीवनको नियति सम्झन्छु तर पनि जीवन र भोगाइ बिचको अन्तरसम्बन्धलाई कहिल्यै पनि बदल्न चाहिन बरु दृढ संकल्पका साथमा अगाडि बढी रहें ।
भुवन सम्झन्छन् श्रीमती र छोरा छोरीको भबिष्यलाई हृदयमा राखेर काम गर्ने हो भने त दु:ख भनेको पसिना संगै बगेर जाने रहेछ ।’
कर्मलाइ पुजा गर्छन् उनी । धर्म भनेको सेवा हो सेवा गर्न कुनै अमुक आस्था चाहिदैन बरु सच्चा मन चाहिन्छ । त्यसको लागि भित्री हृदयबाट दृढ संकल्प अंकुराउनु पर्छ ।
भुवन भट्टराई तिनै श्रमजीवी पात्र हुन् ,जो मेहनत गरेर अनि कामप्रति आस्था सृजना गरेर जीवनलाई सुखमय र सार्थक बनाउने ध्याउन्नमा छन् ।
भुवनको कर्म र त्यसबाट प्राप्त हुने फल भन्दा सयौं गुणा धेरै खुसी उनले गरेको मेहेनतबाट प्राप्त भएको आत्मीय आनन्द हुने गरेको स्विकार्छन् ।
भुवनले जीवनमा भोगेका यथार्थ संझदै भन्छन् “समयले बर्खा ओड्यो आकाश धमिलो हुँदैछ । चराहरु सुदुरका गुड तर्फ बेग मार्दै छन् ।
च्युला फेरेका बकैनाका रुखहरु फिर्फिर गर्दै छन् । पारी डांडा माथि लुकामारी खेली रहेका बादलका धब्बासंगै एक हुल सेता बकुल्ला ओझेल पर्छन् ,जसै पंख फिजाएर मलेवाले पनि पिरती साट्छ्न् ।
जीवनको उर्बरतामा उकेरा लगाउदै झाङ्गिएको समयसंग एक फेरो संझना संगालेर निरन्तर अगाडि बढीरहेको भुबनको हुटहुटी जीवन्त छ अनि प्रेरणादायी छ । पसिनाको सुगन्धले पौरख ओकलेको छ ।
धेरै पटक ट्याम्पो पल्टिँदा सयौं लिटर दुध पोखिदा भुवन एक्लै एकान्तमा बसेर रोएका छन् । जिन्दगीको अपत्यारिलो र अनकन्टार अनुभूती संगालेका भुवन घण्टौंसम्म बाटाका अप्ठ्याराहरुसंग पौठेजोरी खेल्न पुगेका छ्न् ।
भुवनलाई श्रीमती राधा भट्टराईले गहिरो साथ दिने गर्छिन्। उनका हरेको दु:ख सुखमा श्रीमतीको साथ सहयोग र हौसलाले भुवनको जीवनलाई उज्यालो बनाएको छ ।
एक छोरा र तीन वटी छोरीको शिक्षा दिक्षामा अडिलो साथ बनेको दुग्ध ब्यबसायलाई आम्दानीको उपयुक्त बाटो बनाएका छन् ।
भुवन भन्छन् ‘दुध ब्यबसायबाट सन्तुष्ट छु । खान, लाउन, छोरा छोरीलाई पढाउन कमी भएको छैन । बचत भएको पैशा सही ठाउँमा सदुपयोग गरेको छु ।’
दु:खका दिनहरुलाई नजिकबाट नियालेका भुवन निगालोको बाँस खोपेर धुन निकालेको मुरली जस्तै हुन्, जसले जिन्दगीको अक्करे कालाभिरमा थुप्रै चोटि लड्ने र चड्ने हिम्मत जुटाउन भ्याएको छ ।
भुवनको डेरीमा दुधका परिकारहरु दही, लस्सी, मोही पनिर, घ्यु अनि कुराउनी पाइन्छन् ।
कृषि प्रधान देशमा जन्मिएर बारिका काँल्लाहरु बांझै छाड्दै परदेशमा रमाउने आम युवाहरुको चेतनाप्रती भुवनको दुखेसो छ, उनी भन्छन् गर्न चाहने हो भने स्वर्ग यतै छ परदेश त मिथ्या सपना हो अनि हेलिएको बिपना मात्रै हो ।
भुवनको कर्म र मिहेनतलाई देख्नेहरु उनको कामलाई अनुकरणीय भन्छन् । सफलीभुत उद्देश्य भन्छन् अनि कर्मको फल मीठो हुन्छ पनि भन्छन् ।