सर्लाही । प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनका सेनानी बासुदेव शरण कोइरालाको निधन भएको छ ।
विपी कोइरालाका सहकर्मीसमेत रहेका नेपाली कांग्रेसका अग्रज नेता एवं नेपाल किसान संघका पूर्व अध्यक्ष उनको मंगलवार बिहान ९३ वर्षको उमेरमा निधन भएको हो ।
सर्लाहीको लालबन्दी-२ जुटपानीमा आफ्नै निजी सम्पतिबाट आफ्ना बुवाआमाको सम्झनामा पद्मभुवनेश्वरी नमूना बृद्ध सेवाश्रम स्थापना गरी समाजसेवामै जीवन उत्सर्ग गरीरहेका कोइराला लाभको पदपछि कहिल्यै नलागेका त्यागी नेता हुन् । लामो समयदेखि अस्वस्थ रहेका कोइरालाको सेवाश्रममै निधन भएको हो ।
मृत्यु पर्यन्त पनि समाजसेवा गर्ने उनको अठोटबमोजिम उनले आफ्नो शरीर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत चिकित्सा शास्त्रका विद्यार्थीलाई अध्ययनका लागि दान गर्ने सहमति गरेका र सोही बमोजिम शरीर सुम्पने प्रक्रिया भइरहेको उनको छोरी भवानी कोइरालाले जानकारी गराएकी छन् ।
काभ्रेपलान्चोक जिल्लाको खाेपासी जन्मथलो भएका कोइराला नेपाली कांग्रेस काभ्रेको उपसभापति भइसकेका नेता हुन ।
त्यस्तै, सर्लाहीको जुटपानीलाई कर्मथलो बनाएका उनी नेपाली कांग्रेस सर्लाहीको समेत पूर्व सभापति रहेका थिए ।
नेपाली कांग्रेसमा मात्र नभई स्थानीय माझ पनि कोइराला त्याग, निस्ठा र इमानका पर्याय थिए । नेपाली कांग्रेसका पुराना र सुपरिचित नेता भएर पनि उनी पद र प्रतिस्ठाको लागि कहिल्यै मरिमेटेनन, बरु असहाय जेष्ठ नागरिकको सहारा बनेर सादा जीवन बिताइरहेका उनी समाजसेवी नायकको छवि बनाएका राजनीतिज्ञ हुन् ।
पछिल्लो समय राजनीति गर्नेहरुकै कारण राजनीति क्षेत्र नै बदनाम र बिकृत बन्दै गएकोप्रति उनी चिन्तित देखिन्थे । बिपीको आदर्शबाट बिचलित हुन नहुने र समाजसेवालाई केन्द्रमा राख्नुपर्ने उनको स्पष्ट धारणा रहेको थियो ।
उनको श्रीमती, एक छोरा र तीन छोरी छन् ।








