१४ वर्षिया शालीनको आत्महत्या नभई बलात्कार पछि हत्या भएको किटानी जाहेरी

चितवन । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा मृत फेला परेकी छात्रा शालीन पोख्रेलका अभिभावकले हत्या भएको किटानी जाहेरी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले १४ वर्षिया शालीन गत १२ गते होस्टलमा आत्महत्या गरेको अवस्थामा फेला परेकी बताएको भएपनि शालीनका परिवार त्यो मान्न तयार छैनन् ।

विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा, सहायक प्रधानाध्यापक किरणबहादुर अधिकारी र छात्रावास सुपरिवेक्षक कमल शर्मा पौडेलविरुद्ध किटानी जाहेरी दिन जादा प्रहरीले नाम हटाएर ल्याउन दबाव दिएको र घटनाको चार दिनपछि मात्र प्रहरीले जाहेरी लिएको उनले जानकारी गराए ।

मृतक शालीनका पिता दीपेन्द्र पोख्रेलले बिहीवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आफ्नो छोरीले आत्महत्या गरेको नभएर बलात्कारपछि हत्या गरिएको जिकिर गरे । घटनाबारे परिवारलाई ढिलो जानकारी गराएको र शिक्षक, अभिभावक, व्यवस्थापन समिति, शालीनकी कोठाका साथी, राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधिसमेतलाई बोलाई छलफलपछि मात्र मुचुल्का गरौँभन्दा प्रहरीले विद्यालय परिसरभित्रै मृतकका काका हरि पोख्रेललाई निर्घात कुटपिट गरेका समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ ।

मृतकका बुवाले प्रमाण नष्ट गराउने मनसायले काम गरेको देखिएको दावी गरे। “म त्यहाँ पुग्नुभन्दा पहिले नै ‘घटना भएको छात्रावास’ को ढोका फोडिएको थियो, घटना भएको ठाउँमा सरसफाइ गरिसकेको थियो,” उहाँले भन्नुभयो, “ शालीनले लगाएको कपडा, जुत्ता पानीमा डुबाइएको अवस्थामा फेला परेको थियो, उक्त कुराको भिडिओ फुटेज मसँग सुरक्षित छ ।” उनले भने ।

शालीनको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पोस्टमार्टम गराउन आफूले शव वाहनमा ल्याएको उनको भनाइ छ । प्रहरीले निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने परिवारको माग छ ।

Loading...