भान्सामा प्रयोग हुने मसाला जिराको भाउ ह्वात्तै घट्यो : चिनी, दाल र तेलको मुल्यमा पनि गिरावट

भान्सामा प्रयोग हुने मसाला जिराको भाउ भारीमात्रामा घटेको छ । पछिल्लो समय जिराको मूल्य घटेको हो ।

५ महिना अघि प्रतिकेजी १ हजार ३ सय रुपियाँ पर्ने जिरा किलोमा ५ सय रुपियाँ घटेर ८ सय रुपियाँ प्रतिकेजीमा कारोबार हुन थालेको नेपाल खुद्रा व्यापार सङ्घले जनाएको छ । जिराको धुलो अहिले प्रतिकेजीमा ४ सय रुपियाँ घटेर १ हजारमा कारोबार भएको समेत सङ्घले जनाएको छ ।

दैनिक प्रयोग हुने चिनीको मूल्य पनि १० रुपियाँले घटेको छ ।

यो अवधिमा मुसुरो, मुङ दाल, काँचो तोरीको तेललगायत वस्तुको मूल्य पनि घटेको छ । सङ्घका अनुसार मुसुरो हाल प्रतिकेजी १ सय ६५ रुपियाँ भएको छ । यस्तै मुङको दाल प्रति केजी १ सय ६० रुपियाँ र काँचो तोरीको प्रतिलिटर ३ सय रुपियाँमा कारोबार भएको छ ।

यस्तै कालो भटमासको पनि मूल्य घटेको छ । ज्वानोको मूल्य प्रतिकेजी ५० घटेर ४ सय ५० रुपियाँ कायम भएको छ । गत कात्तिकमा २ सय ६० रुपियाँ प्रतिकेजी कारोबार भएको काँचो बदामको मूल्य २ सय ५० रुपियाँ प्रतिकेजीमा झरेको सङ्घले जनाएको छ ।

यसैबीच, भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भएपनि नेपालमा मूल्य नबढ्ने आयल निगमले बताएको छ ।

एलपी ग्यासको मूल्य प्रति सिलिन्डर २१.६६ रुपैयाँ बढेर आएको छ। तर निगमले मूल्य नबढाउने बताइएको छ । योसँगै प्रतिसिलिन्डरमा निगमको नोक्सानी ३ सय २५ रुपैया ०९ पैसा पुगेको छ ।

भान्सामा महंगीको मार पर्न नदिन पछिल्लो समय सरकारले विशेष पहल गरिरहेको छ ।

Loading...