माओवादीमा चाकरी गर्ने र धम्क्याउनेले आत्मसमिक्षा गर्नुपर्ने प्रचार सचिवको सुझाव

Balaram Thapa
Balaram Thapa

काठमाडौ । नेकपा (माओवादी केन्द्र) को प्रचार विभागका सचिव एवं वरिष्ठ पत्रकार बलराम थापाले आफ्नो पार्टीप्रति तीखो समालोचना गर्दै भनेका छन्— “पार्टीको एजेन्डा बेवारिसे हुँदा त्यही एजेन्डा आज माओवादीको घाँटीमा तरवार बनेर बज्रिएको छ।”

थापाले जेन–जेड आन्दोलनलाई राजनीतिक चेतनाको नयाँ लहरका रूपमा व्याख्या गर्दै आर्थिक असमानता र सामाजिक विभेदले भरिएको समाजमा सधैं राजनीतिक विद्रोहको बस्तुगत अवस्था कायम रहने स्पष्ट पारेका छन्।

उनका अनुसार, क्रान्तिकारी शक्तिको प्रतिनिधित्व गर्ने माओवादी पार्टीको धार कमजोर भएकै कारण आफ्नो अग्रगामी एजेन्डा हराउँदै जाँदा यो परिणाम भोग्नुपरेको हो ।

उनले प्रश्न उठाएका छन् — “प्रत्येक आन्दोलनमा शक्ति सन्तुलनको अंकगणित हेरेर पक्षधरता देखाउने मध्यमवर्ग किन यो विद्रोहमा नेतृत्वदायी भूमिकामा उभियो ? चुनावी नारा र सत्तामा पुगेपछि फेरिने वर्गप्रति जनताले निगरानी कसरी गरिरहेका छन् ? सत्ताको उन्मादी आँखाले विष्फोटको यो भयानकतालाई किन देख्न सक्दैन ?”

थापाले माओवादी केन्द्रलाई तत्काल आत्मसमिक्षा गर्न सुझाव दिँदै भने, “लामो समयदेखि उठाउँदै आएको एजेन्डा बेवारिसे हुँदा आफ्नै विरुद्ध हतियार बनेको छ। पार्टीभित्र नयाँ वर्ग जन्मिँदा जनमानसमा आक्रोशको आँधी पैदा भएको छ।”

उनका अनुसार, मुख्य नेतृत्वको चाकरी र सत्ताको लुटखसोटमा तल्लीन दुई वर्ग — एक ‘मुख्य नेतृत्वलाई धम्क्याउने वर्ग’ र अर्को ‘नेतृत्वको चाकरी गर्ने वर्ग’ — दुबै आत्मसमीक्षाबाट टाढा छन्।

थापाले थपे, “बलिदानको मुहानबाट जन्मिएको ‘लाल पूँजीपति वर्ग’ आज पूँजीवादको प्राविधिक विवादमा अल्झिएको छ। तिनीहरू वर्गीय प्रश्नको सट्टा व्यक्तिको उमेरमा मार्क्सवाद खोज्दैछन्, मानौं मार्क्सवादी आत्मा उनीहरूकै निजी सम्पत्ति हो।”

उनले माओवादी नेताहरूप्रति तीखो सन्देश दिँदै भने, “कृपया, आफू नेतृत्वमा पुगेपछि संसार बदलिन्छ भन्ने भ्रमबाट मुक्त बन। आत्मारतिबाट व्युँझ। इतिहासले सिकाएको छ — गल्तीबाट नसिक्नेहरू सधैं फर्कन नसक्ने अँध्यारो गुफामा हराउँछन्।”

वरिष्ठ पत्रकार समेत रहेका थापाको भनाइ अनुसार, अहिलेको आन्दोलनले पार्टी र नेतृत्व दुवैलाई इतिहासको गम्भीर सैद्धान्तिक प्रश्न सामु उभ्याएको छ र अरुलाई दोष दिएर यसबाट भाग्ने छुट कसैलाई छैन ।

थापा क्रान्तिकारी धारको मानिने मूलप्रवाह मासिकका सम्पादक समेत हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको विपक्षमा उपमहासचिव जनार्दन शर्मा प्रभाकरको लाइन बैचारिक लाइन नभई असन्तुष्ट समूह मात्र भएको उनको भनाइ छ ।

नेतृत्वको चाकरी गर्ने र नेतृत्वलाई धम्क्याउने दुबै पक्ष गलत भएको र यसले अन्ततः माओवादी आन्दोलन विरोधीलाई नै बल पुर्याउने उनको विश्लेषण छ ।

पार्टीको प्रचार विभाग सचिवसमेत रहेका थापाले पार्टी आत्मसमिक्षा सहित एकतावद्ध भएर उठ्नुको विकल्प नभएको बताएका छन् ।