काठमाडौ । सरकारले फागुन २१ मा निर्वाचन सम्पन्न गराउने उद्देश्यले आयोजना गरेको सर्वपक्षीय छलफलमा सहभागी राजनीतिक दलहरूले निर्वाचनका लागि वातावरण बनाउनु सरकारको पहिलो कर्तव्य भएको बताएका छन्।
बैठकमा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले घोषित मितिमै निर्वाचन गराउने सरकारको प्रतिबद्धता सह्रानीय रहेको उल्लेख गर्दै दलहरूले सरकारलाई आवश्यक सहयोग गर्नुपर्ने बताए।
खेल सुरु भइसकेपछि नियम फेर्नु गलत हुने धारणा राख्दै उनले नियतबस निर्वाचनको मिति सार्ने प्रयास भए संविधान विपरीत हुने चेतावनी पनि दिए।
उनले ६ महिनाभन्दा बढी संविधान उल्लङ्घन गर्दै निर्वाचन धकेल्ने प्रयास भए स्वीकार्य नहुने स्पष्ट पारे।
निर्धारित समयभित्र नयाँ संसद् नआए सरकारको निर्णय, पुरानो संसद् पुनःस्थापना वा सडकको हस्तक्षेपमध्ये कुनै एक विकल्प आउने भन्दै सरकारलाई पुनले सचेत गराए।







