
काठमाडौं । नेकपा (माओवादी केन्द्र) महोत्तरी–काठमाडौं सम्पर्क समितिको तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ।
काठमाडौको अनामनगरमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनबाट चन्द्रमोहन मिश्रको अध्यक्षमा ३५ सदस्यीय कार्यसमिति निर्वाचित भएको माओवादी केन्द्रका नेता घनश्यामप्रसाद रजकले जनाएका छन् ।
उपाध्यक्षमा क्रमशः चन्द्रप्रभा यादव, गणेश अधिकारी र बिमल देवकोटा निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा अदिती पौडेल र कोषाध्यक्षमा रमिला थापा निर्वाचित भएका बताइएको छ ।
अधिवेशनले संगठनलाई थप सुदृढ गर्दै आगामी दिनमा माओवादी आन्दोलनलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष चन्द्रमोहन मिश्रले बताएका छन् ।
केन्द्रका नेता क. मातृका यादवको विशेष उपस्थितिमा नेपाली काँग्रेस र नेकपा एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका नयाँ सदस्यहरूलाई टिका र गम्छा लगाएर स्वागत गरिएको थियो।
अधिवेशनको उद्घाटन भने माओवादी केन्द्रका उपमहासचिव एवं मधेस प्रदेश इन्चार्ज मातृका यादवले गरेका थिए । सो अवसरमा प्रमुख अतिथि रहेका यादवले पार्टी अध्यक्ष प्रचण्ड देशकै एकमात्र नेता भएको दावी गरे ।
“पार्टीमा मात्र होइन, देशमै प्रचण्डको बिकल्पमा कुनै नेता छैनन् ।” उनले भने । उनले माओवादी केन्द्र फेरि पहिलेजस्तै जनता तर्फ फर्केकोले जनताको बिश्वास माओवादी केन्द्रले पाइरहेको उनको जिकिर छ ।
पार्टीप्रति विश्वास, विचारप्रति प्रतिबद्धता र परिवर्तनप्रति समर्पणसहित सामाजिक एवं राजनीतिक गतिविधि अघि बढाउन उनले निर्देशन समेत दिएका छन् ।
सो अवसरमा उनले महोत्तरीका दर्जनौं युवालाई पार्टी प्रवेश पनि गराएका थिए ।








