दुर्घटनामा ज्यान गुमाएका भनिएका थापा परिवारले गुहारे मानव अधिकार आयोग

महोत्तरी । गत असार २२ गते काठमाडौको जडिबुटीमा दुर्घटना परेर घाईते भएका महोत्तरीका अरुण थापाको प्रहरीको लापरबाहीको कारण ज्यान गएको आफन्तले आरोप लगाएका छन् ।

घाईते थापालाई उद्दार गरेर अस्पताल लैजाने क्रममा ट्याक्सीको पछाडी डिकीमा राखेको सिसिटिभी फुटेज बाहिरिए पछि परिवारले मृत्युको कारण लापरबाही भएको निष्कर्ष निकालेका हुन् ।

तर प्रहरीले भने घाईतेलाई उपचारको लागि भक्तपुर इन्टरनेसनल अस्पताल लगे पछि उपचारको क्रममा चिकित्सकहरुले मृत्यु घोषणा गरेको दावी गरेको छ ।

यही विचमा बाहिरिएको सिसिटिभी फुटेज हेर्दा भने प्रहरीले डिकीमा अमानवीय ढंगवाट कोचिएको देखिएको छ । फुटेजमा ईनड्राइभ ट्याक्सीलाई बोलाएर घाईतेलाई पछाडी डिकीमा राखिएको र प्रहरीहरु अगाडी बसेको देखिन्छ । 

यही विषयलाई लिएर मृतक थापाका परिवारले अमानवीय ढंगवाट प्रहरीले गरेको लापरबाहीकै कारण मृत्यु भएको दावी गर्दै मानवअधिकारवादीहरुलाई गुहारेका छन् ।

मृतक थापाका भाई अनिल थापाले रहस्यमय ढंगले दाजुको मृत्यु भएको बताउँदै घटनाको विषयमा स्वतन्त्र छानविन समिति गठन गर्न माग गरेका छन् ।

पिडित परिवारले हिजाे मानव अधिकार आयोगमा उजुरी समेत दिएका छन् । उजुरीमा प्रारम्भिक रुपमा सिसिटिभी फुटेज हेर्दा प्रहरीले अमानवीयता देखाएको कारण मृत्यु भएको बताउँदै नेपालको संविधान तथा मानवअधिकारको गम्भीर उल्लघंन भएको उजुरीमा उल्लेख गरिएको छ ।

पिडित परिवारले घटनाको सत्यतथ्य छानविन गरि न्याय दिलाउन र उचित क्षतिपुर्तिको व्यवस्था गर्न पनि माग गरेका छन् ।

घटनाका सम्बन्धमा कतिपय शंकास्पद तथ्यहरु समेत देखिएको बताउँदै मृतकका भाई अनिलले थप सिसिटिभी फुटेज माग्दा अस्पताल र प्रहरीले सार्वजनिक गर्न आनाकानी गरेको गुनासो गरेका छन् ।

महोत्तरी बर्दिवास-८ निवासी मृतक थापाका श्रीमती र दुई छोरीहरु रहेका छन् ।