पत्रकार दिवाकरको पक्षमा उभियो पत्रकार महासंघ

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेशले एचटीपी खबरका पत्रकार दिवाकर साहमाथि भएको दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

गत असार २३ गते राति अनुचित गतिविधि भइरहेको सूचना पाएपछि पत्रकार साह पूर्वाधार विकास कार्यालय महोत्तरी पुगेका थिए।

समाचार संकलनका क्रममा त्यहाँ उपस्थित केही व्यक्तिहरुले पत्रकार साहसँग दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

महासंघको मधेश प्रदेश समितिले उक्त घटनालाई प्रेस स्वतन्त्रता माथिको खुला हस्तक्षेप भन्दै भर्त्सना गरेको छ।

समाचार संकलन गर्न पुगेका पत्रकारलाई अवरोध गर्नु, धम्क्याउनु तथा दुर्व्यवहार गर्नु प्रेस स्वतन्त्रतामाथिको गम्भीर उल्लंघन भएको महासंघको भनाइ छ।

महासंघका मधेस प्रदेश समितिका महासचिव शैलेन्द्र महतो कान्तिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रेस स्वतन्त्रता जोगाउन हामी सधैं प्रतिबद्ध छौं, यस्ता घटना प्रेसमाथि अंकुश लगाउने प्रयास हो।”

महासंघले घटनामा संलग्नहरुलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ। साथै, प्रेस स्वतन्त्रता कायम राख्न सम्पूर्ण पक्षको सहयोग अपरिहार्य रहेको पनि महासंघले जनाएको छ।