काठमाडौँ । नेकपा एमालेले यसअघि विधानमा रहेको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ ।
शुक्रबार सुरु भएको पोलिटब्युरो बैठकले ७० वर्षे उमेर हद र २ नेतृत्वमा कार्यकाल भन्ने विधानमा रहेको व्यवस्था संशोधन सम्बन्धी प्रस्ताव पारित गरेको हो ।
बैठकमा उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
गौतमका अनुसार संशोधन प्रस्तावमा मुख्य गरी पार्टीमा अबदेखि सङ्गठित र साधारण सदस्य गरी दुई थरी सदस्यताको व्यवस्था रहने प्रस्ताव पारित भएको छ । त्यस्तै बैठकले जिल्ला कमिटीलाई कार्यकारी कमिटी हुने प्रस्ताव गरेको छ ।
बैठकमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पार्टीमा सक्रिय हुने विषयमा भएको छलफलमा अर्को कमिटीबाट निर्णय गर्ने एमालेले जनाएको छ ।
‘राष्ट्रको सर्वोच्च पदमा पुगेको व्यक्ति राजनीतिमा आउनु ठिक होइन भन्ने धारणा आएको छ । साथै उहाँलाई अहिले नै एमालेले अध्यक्ष बनाएर जाने सम्भावना छैन’, गौतमले बैठकको सार सुनाउँदै भने, ‘तर त्यसबारे अर्को कमिटीमा छलफल हुन बाँकी छ ।’
शनिबारको बैठकमा गोरख बोगटी, अग्नि खरेल, भीम आचार्य, मुकुन्द न्यौपाने, भानुभक्त ढकाल, केशव बडाल, गोकुल बास्कोटा, हिक्मत कार्की, थममाया थापा, महेश बस्नेत, लीला श्रेष्ठ, गोकुल घर्तिमगर, राजेन्द्र गौतम, लीला गिरी, जगत विक, कमल चौलागाईं, ईश्वरबहादुर रिजाल, जितु गौतम, विनोद श्रेष्ठ, सुमन प्याकुरेल, भैरवसुन्दर श्रेष्ठ, रामदयाल मण्डल, दलबहादुर राणा, देवेन्द्र दाहाल, अरुण नेपाल, गोकुल घर्तीमगर लगायतले विधान संशोधन मस्यौदामाथि धारणा राखेका छन् ।







