नेपालमा विद्युतको बजार अपार, १७ लाख हेक्टर जमिन सिँचाइ ८३ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणलाई मात्रै ५०० भन्दा बढी इलेक्ट्रिकल इन्जिनियर आवश्यक पर्ने बताएका छन्। निजी हाइड्रोपावर र अन्य कम्पनीहरूका लागि यो संख्या हजारभन्दा बढी पुग्ने उनको भनाइ छ।

काठमाडौं इन्जिनियरिङ कलेज, कालिमाटीमा आयोजित ‘एकीकृत जलस्रोत व्यवस्थापनमार्फत आर्थिक रूपान्तरण’ विषयक प्रवचन कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै घिसिङले भने, “विद्युत प्रणालीको आधुनिकीकरण र सशक्तिकरण गर्न प्राधिकरणलाई मात्रै ५०० बढी इलेक्ट्रिकल इन्जिनियर चाहिन्छ। दक्ष जनशक्ति उत्पादनका लागि सरकारको नीति निर्णायक हुन्छ।”

कार्यक्रम काठमाडौं इन्जिनियरिङ कलेजको इलेक्ट्रिकल क्लबले आयोजना गरेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले जलस्रोतको बहुपक्षीय प्रयोगबारे धारणा राखे। उनका अनुसार जलस्रोतलाई खानेपानी, सिँचाइ, खाद्यान्न उत्पादन, जलयातायात, जलपर्यटन, वातावरण र जलविद्युतलगायत क्षेत्रमा उपयोग गर्न सकिन्छ।

उनले नेपालमा ठूला जलाशय निर्माण गरेर १७ लाख हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउन सकिने र ८३ हजार मेगावाट विद्युत उत्पादन गर्ने सम्भावना रहेको बताए। हाल नेपालमा प्रतिव्यक्ति विद्युत खपत ४०० युनिट मात्र रहेको र नर्वेमा यो २६ हजार युनिट रहेको उल्लेख गर्दै उनले नेपालमा विद्युतको बजार अपार रहेको बताए।

कार्यक्रममा कलेजका अध्यक्ष तथा प्राचार्य इ. हिरेन्द्रमान प्रधान, इलेक्ट्रिकल विभागका सल्लाहकार डा. इन्द्रमान ताम्राकार, इलेक्ट्रिकल क्लबकी अध्यक्ष रेफिना श्रेष्ठ, सिनियर भाइस प्रिन्सिपल आ. शैलिता मानन्धर जोशी, भाइस प्रिन्सिपल इ. अर्जुन पौडेललगायतको उपस्थिति थियो।

प्रवचनपछि प्रश्नोत्तर सत्र पनि भएको थियो। कार्यक्रममा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको एसोसिएट प्रोफेसर इ. श्रीकृष्ण सुलुले जानकारी दिए।