ओली निरङ्कुश, स्वेच्छाचारी र प्रतिशोधी प्रवृत्तिको नेता : वर्षमान पुन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरङ्कुश, स्वेच्छाचारी र प्रतिशोधी प्रवृत्तिका नेता भएको आरोप लगाएका छन्।

शनिबार राजधानीमा आयोजित गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिको पार्टी स्कुल कार्यक्रममा बोल्दै पुनले ओलीले विपक्षी दलहरूका नेतामाथि निरन्तर प्रतिशोधको राजनीति गरिरहेको बताए।

उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबाट सुरु भएको प्रतिशोधको क्रम अहिले कांग्रेस नेतृ तथा परराष्ट्रमन्त्री आरजु राणा देउवासम्म पुगेको छ। उनले भने, “ओलीले सहकारी ठगी प्रकरणमा लामिछानेलाई थुनेर रास्वपामा फूट ल्याउने योजना बनाएका थिए।”

त्यस्तै, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि मुद्दा लगाएर एमालेमा पुनः गाभ्ने प्रयास ओलीको रहेको पुनको दाबी थियो। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) फुटाएर एउटा समूह आफूतिर तान्ने तयारी पनि ओलीले गरिरहेको उनले बताए।

“विरोधीहरूलाई ठेगान लगाउने नाममा ओलीले विभिन्न दलका शीर्ष नेताहरूमाथि मुद्दा लगाउने, पार्टी फुटाउने वा आफूतिर गाभ्ने रणनीति अपनाइरहेका छन्,” पुनले भने, “लामिछानेलाई जेल हालेर पार्टी फुटाइदिने, राजावादी नेता दुर्गा प्रसाईं र रवीन्द्र मिश्रलाई थुन्ने, राजेन्द्र लिङ्देनलाई आन्दोलन रोक्न लगाउने प्रयास ओलीबाट भइरहेको छ।”

उनले थपे, “यदि कांग्रेस गठबन्धनबाट अलिकति चलमलायो भने, ओलीले आरजु राणामाथि पनि कुनै न कुनै बहानामा मुद्दा लगाउने तयारी गरेका छन्। अहिले त उहाँ ‘आरजुका आमा र छोराको पालो हो’ भन्दै कांग्रेस नेतृत्वलाई धम्क्याइरहनुभएको छ।”

प्रधानमन्त्री ओलीले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखक र टेरामक्स खरिद प्रकरणमा मुछिएका मोहनबहादुर बस्नेत लगायत बिबादित कांग्रेस नेतालाई देखाएर कांग्रेस सभापति शेरबहादुर देउवालाई दबाबमा राख्न खोजेको आरोप पनि लगाए।

अन्त्यमा, उनले भने कि ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि सीआईबी, सम्पत्ति शुद्धीकरण विभाग र अख्तियारमार्फत फसाउने प्रयास विगतमै गरिसकेको स्पष्ट पाइएको छ।

“यी निकायहरूबाट केही ननिस्किएपछि उहाँले प्रचण्डका पूर्व पिए विकेश श्रेष्ठमार्फत शेरा दरबारबाट दबाब सिर्जना गर्न खोज्नुभएको थियो, त्यो पनि प्रचण्डको संलग्नता नपाएर उनी जिल्ला परेका पुष्टि  भइसकेको छ,” पुनले दावी गरे।