काठमाडौं, असार ३२ । सात प्रमुख राजनीतिक दलका महिला संगठनहरूको संयुक्त बैठकले पछिल्लो समयमा बढ्दो महिला हिंसा, बलात्कार, हत्या, अपहरणजस्ता घटनाको विरोध गर्दै तीन बुँदे निर्णय सार्वजनिक गरेको छ।
काठमाडौंको कोटेश्वरस्थित नेकपा माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा बसेको संयुक्त बैठकले पहिलो बुँदामा महिलामाथि भइरहेका हत्या, बलात्कार, अपहरण र हिंसाका घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै त्यसमा संलग्न दोषीमाथि कानुनी कारबाहीको प्रभावकारी कार्यान्वयनको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ।
दोस्रो बुँदामा निर्वाचन आयोगले प्रस्तुत गरेको एकीकृत निर्वाचन विधेयक तुरुन्त पारित गर्न सरकारलाई दबाब दिनुपर्ने निर्णय भएको छ।
तेस्रो बुँदामा प्रतिनिधि सभा र राष्ट्रिय सभामा संसद सचिवालयको संरचनाभित्र महिला समानुपातिक समिति गठन गरी निर्णय निर्माणमा महिलाको उपस्थिति सुनिश्चित गर्नुपर्ने माग गरिएको छ।
बैठकमा भाग लिने महिला संगठनका नेतृहरूमा अखिल नेपाल महिला संघकी कार्यवाहक अध्यक्ष मेनुका पोखरेल, नेपाल महिला संघकी नेतृ,
अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अमृता थापामगर, समाजवादीकी मुनु सिग्देल,अखिल नेपाल महिला संघकी मिना पुन, क्रान्तिकारीकी उपाध्यक्ष घिरेन्द्र सीलगायतको सहभागिता रहेको थियो।
बैठकले देशभर बढ्दै गएको महिला हिंसाविरुद्ध एकीकृत दबाब सिर्जना गर्दै आगामी दिनमा संयुक्त संघर्षका कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाएको बताइएको छ ।







