आईसीटी फोरमको अध्यक्षमा निर्मल ज्ञवाली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) भित्रको प्रविधि तथा सूचना क्षेत्रमा संलग्न सदस्यहरूको समुह ‘आईसीटी फोरम’को नेतृत्व निर्मल ज्ञवालीले पाएका छन् । 

राजनीतिमा प्रविधिको प्रभावकारी प्रयोग तथा बिचार र नेतृत्वको रक्षा गर्ने उद्देश्यले स्थापित ‘आईसीटी फोरम’ को अध्यक्षमा निर्मल ज्ञवालीलाई नियुक्त गरिएको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं फोरमका सह इन्चार्ज बिष्णु सापकोटा जुगलले जनाएका हुन्।

शहीद कृष्ण सेन इच्छुकको २३ औं स्मृति दिवसको दिन पारेर निवर्तमान अध्यक्ष एवं पार्टी केन्द्रीय सदस्य गोविन्द आचार्यले ज्ञवालीलाई पदभार हस्तान्तरण गरेका छन् । सो अवसरमा पार्टीका केन्द्रीय उपाध्यक्ष एवं प्रचार बिभागका इन्चार्ज अग्नि सापकोटाको समेत उपस्थिति रहेको थियो ।

नवनियुक्त आईसीटी फोरम’ का अध्यक्ष ज्ञवाली यस् अघि प्रेस सेन्टर नेपालका उपाध्यक्ष रहेका थिए । सेन्टरको अध्यक्ष दावी गरिरहेका उनलाई आइसीटी फोरमको नेतृत्व दिने आश्वासन दिइएको थियो । सेन्टरमा मतदान प्रक्रियाबाट कमल गिरी नेतृत्वमा आएका छन् । उपाध्यक्ष रहेका ज्ञवाली वरिष्ठ उपाध्यक्ष रहेका गिरीलाई समर्थन गर्दै अध्यक्ष दावीबाट पछि हटेका थिए ।

जनयुद्धकालीन पत्रकार ज्ञवाली गोर्खा स्थायी घर भइ हाल भक्तपुर निवासी हुन् । 

ज्ञवालीले आफ्नो नियुक्तिप्रति पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र इञ्चार्ज अग्नि सापकोटालाई धन्यवाद दिदै पार्टी र नेतृत्वले आफूप्रति गरेको बिश्वास गुम्न नदिने प्रतिवद्धता प्रकट गरेका छन् ।

उनले यो जिम्मेवारी केवल एक पद नभई विचार, नेतृत्व र समाजसेवाको संकल्पसहितको अवसर भएको उल्लेख गर्दै यस अभियानमा सबैको साथ, सुझाव र समालोचना स्वागत गर्ने प्रतिक्रिया दिए। “सूचना प्रविधिको उच्चतम प्रयोगमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने मेरो लक्ष्य छ,” ज्ञवालीले भने।

आईसीटी फोरम प्रविधिमा आधारित राजनीतिक संगठन हो, जसले पार्टीको विचार र  कार्यक्रममा डिजिटल माध्यमको भूमिका विस्तार गर्न काम गर्छ। प्रविधि र सूचना प्रणालीको प्रभावकारी प्रयोगमार्फत संगठनको पहुँच, पारदर्शिता र संचार क्षमतामा योगदान दिनु यस फोरमको उद्देश्य रहेको छ ।