‘स्वच्छ वायु लामो आयु’ विषयक वक्तृत्वकलामा महेन्द्रग्राम माविकी दुलाल प्रथम

भक्तपुर । “स्वच्छ वायु लामो आयु” भन्ने शिर्षकमा चाँगुनारायण नगरपालिकाभित्रका माध्यमिक विद्यालयका विद्यार्थीबीच आयोजना गरिएको वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

नगरपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता शाखाको आयोजना एवं स्वच्छ हावा संजालको समन्वयमा मंगलबार सो प्रतियोगितामा तपादम्फोस्थित सभा हलमा सम्पन्न भएको हो ।

प्रतियोगितामा महेन्द्रग्राम माविकी सृजला दुलाल प्रथम भएकी छन् । दुलाललाई पछ्याउँदै  आरक्षण नेसनल एकेडेमीकी जया दुलाल द्वितीय भइन भने फुलब्राइट इङलिस सेकेन्डरी स्कूलकी आकृती न्यौपाने तृतीय हुन सफल भएकी आयोजकले जनाएको छ ।

त्यसैगरी प्रज्ञा इङलिस सेकेन्डरी स्कूलका अथर्वकुमार कार्कीले सान्त्वना स्थान हात पारेका छन् ।

स्वच्छता सन्देशसहित सम्पन्न प्रतियोगिताले विद्यार्थीहरूमा वातावरणीय सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको स्वच्छ हावा संजाल चाँगुनारायणका सल्लाहकार एवं सामाजिक अभियन्ता नबराज काफ्लेले बताएका छन् ।

वातावरणीय चेत अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको वडध्यक्ष सोमप्रसाद प्रधानले बताए ।

प्रतियोगितामा चाँगुनारायण नगरभित्रका २५ विद्यालयका प्रतिनिधि सहभागी रहेका थिए ।