प्रेस विरोधी तीन घटनामा प्रेस सेन्टरको आपत्ति

काठमाडौं । पत्रकारमाथि धम्कीका दुई घटना र एक पत्रकारको घरमा तोडफोड गरिएको घटनाप्रति प्रेस सेन्टर नेपालले विरोध जनाएको छ।

प्रेस सेन्टरका महासचिव मनोज घर्तीमगरद्वारा जारी विज्ञप्तिमा लेख तथा समाचारको आधारमा पत्रकारहरूलाई हत्या गर्ने धम्की गैरकानुनी र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी भएको उल्लेख गरिएको छ।

विज्ञप्तिअनुसार नेपाल प्रेसमा प्रकाशित ‘विप्लवको राजनीतिक यात्रा : क्रान्तिको भ्रमजाल, विभाजनको दुश्चक्र र असफलताको विरासत’ शीर्षकको लेखका कारण नेपाल कम्युनिष्ट पार्टी (विप्लव)का नेता–कार्यकर्ताले प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव तथा नेपाल प्रेसका वरिष्ठ संवाददाता केशव भुललाई ज्यान मार्ने धम्की दिएका छन्।

त्यस्तै, जनआस्था साप्ताहिकमा प्रकाशित ‘महेश बस्नेतलाई पोस्तादानामा पक्रने प्लान’ शीर्षकको समाचारका कारण नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले पत्रिकाका सम्पादक वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई ज्यान मार्ने धम्की दिएकोप्रति पनि प्रेस सेन्टरले आपत्ति जनाएको छ।

प्रेस सेन्टर नेपालले यी दुवै घटनामा संलग्न नेता–कार्यकर्तामाथि कानुनी कारबाही गर्न माग गरेको छ।

साथै, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको लम्जुङस्थित घरमा अज्ञात समूहले ढुंगा प्रहार गरेको घटनाप्रति पनि दुःख व्यक्त गर्दै छानबिन र दोषीउपर कानुनी कारबाही गर्न सरकारलाई आग्रह गरेको छ।

प्रेस सेन्टर नेपालले प्रेस स्वतन्त्रतामाथि हुने आक्रमण, धम्की र डर त्रास सिर्जना गर्ने सबै कार्य तुरुन्त रोक्न र संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न जोडदार माग गरेको छ।